काठमाडौं । मोइन अलीको धारिलो बलिङ र ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै जनकपुरले प्रतियोगितामा दोस्रो सफलता हात पारेको हो।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमै समेटियो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए भने विपिन आचार्यले २० र विपिन खत्रीले अविजित १६ रन जोडे।
जनकपुरका मोइन अलीले १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले समान २ तथा जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। उसका लागि तृतराज दासले ६१ रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अविशेक तिवारी २४ रनमा अविजित रहे।
पोखराका सकिब अल हसनले ३ विकेट लिँदा मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नले समान एक विकेट लिए।
यो जितसँगै तीन खेल खेलेको जनकपुरले ४ अंक जोडेको छ। पहिलो खेलमा जित निकालेको जनकपुरले त्यसपछि लगातार दुई खेल जितेको हो। यता पोखराको भने यो लगातार दोस्रो हार हो।
एनपीएलअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।












प्रतिक्रिया