काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले भने, “भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो । नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।
त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए । उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ । सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्प बन्दै गएका छन् ।
यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया