काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
बाढी, पहिरो र लेदो खस्दा जनजीवन र यातायात सेवा नराम्ररी प्रभावित बनेको छ ।
प्रहरी तथा सडक विभागबाट प्राप्त पछिल्लो विवरण शनिबार रोशी गाउँपालिका–९ पिनथली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुंगा र माटोसहितको लेदो आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथ पुर्णरुपमा अवरुद्ध भएको छ ।
बल्खु–सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षातको कारणले पानीको बहाव बढ्न गई बाटो पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै, मध्यपहाडी लोकमार्गमा हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा सडकमाथिबाट लेदोसहितको पहिरो झर्दा करिब १५ मिटर मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
आजै बिहान ७ः३० बजे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा लगातारको वर्षाका कारण पानीको बहाव बढेर करिब २० मिटर सडक बगाउँदा जोमसोम–कोरोला सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाका कारण हेटौंडाबाट ठिङ्गन हुँदै ललितपुर निस्कने कान्तिलोकपथ सडक खण्डमा सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन समयमा सवारी साधन आवागमन रोक लगाइएको छ ।
यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पनि पहिरो गएर बाटो बन्द छ ।
प्रहरीका अनुसार कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहान ७ः४० बजे माथिबाट लेदोसहितको पहिरो खसी बाटो बन्द भएको छ ।
नवलपरासी पूर्व खण्डको गैँडाकोट नगरपालिका–३ तरङ्ग भीरमा बिहान ९ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विदुर नगरपालिका–१० सातबिसेमा सडकमाथिबाट पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध बनेको छ ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पेट्रोल पम्प नजिकै पहिरो झर्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
वर्षाको कारण मुस्ताङको चैले स्थित जोमसोम–कोरोला सडक–खण्डमा पानीको वहावले करिब २० मिटर सडक बगाउँदा बाटो पूर्ण रुपमा अवरोध भएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध रहेकाले अत्यावश्यक कामबाहेक यो अवधिमा यात्रा नगर्न र यात्रा गर्नै परेमा सम्बन्धित क्षेत्रको सडक अवस्था बुझेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।












प्रतिक्रिया