१२ कार्तिक २०८३, बिहिबार

इनमसँग आईजीपीको नाम पनि जोडिएपछि आधिकारिकता पुष्टि गर्न काठमाडौं प्रहरीले गरायो ध्यानाकर्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इनम सापकोटासँग सम्बन्धित अनुसन्धान र विभिन्न व्यक्तिसँग उनको सम्बन्धबारे सञ्चारमाध्यममा सार्वजनिक भइरहेका समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण गराएको छ। परिसरले अनुसन्धानसँग जोडिएका विवरण प्रकाशित वा प्रसारण गर्नुअघि तिनको आधिकारिकता पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानका क्रममा रहेका संवेदनशील विषय र प्रमाणहरू सार्वजनिक नगरिएको स्पष्ट पारेका छन्। कानुन र प्रचलित प्रक्रियाअनुसार अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता विवरण कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय सापकोटाको विभिन्न व्यक्ति तथा उच्च पदस्थ अधिकारीहरूसँग सम्बन्ध रहेको दाबीसहितका समाचारहरू सार्वजनिक भइरहेका छन्। विशेषगरी प्रहरी नेतृत्व, पूर्वप्रहरी अधिकारी र न्यायिक क्षेत्रका व्यक्तिहरूसँग उनको सम्बन्ध रहेको दाबीसहित समाचार आएपछि प्रहरीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्नु उसको जिम्मेवारी हो। अनुसन्धानसँग सम्बन्धित अपुष्ट विवरण सार्वजनिक हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्ने भएकाले समाचार सम्प्रेषण गर्दा तथ्य र स्रोतको आधिकारिकता जाँच गर्न परिसरले आग्रह गरेको छ। साथै, अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाको पालना गर्न पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ।

सापकोटालाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउपछि उनको मोबाइलको प्राविधिक परीक्षणका क्रममा प्राप्त विवरणका आधारमा सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भन्ने विवरण यसअघि विभिन्न सञ्चारमाध्यममा आएका थिए।

राणासँगको सम्बन्ध र मोबाइल परीक्षणका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायतको नाम जोडिएका समाचारसमेत सार्वजनिक भएका छन्। यद्यपि, यी विवरण प्रहरी परिसरबाट आधिकारिक रूपमा उपलब्ध गराइएको नभएको विज्ञप्तिले जनाएको छ।

प्रहरीले अनुसन्धानका विषयमा सार्वजनिक हुने सबै विवरणलाई आधिकारिक मान्न नहुने संकेत गर्दै समाचारको विश्वसनीयता पुष्टि गरेर मात्रै प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।