काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न अभियुक्त संजय स्माइली मगरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट आइतबार काठमाडौं ल्याएको छ ।
हत्यारा मगरलाई शुक्रबार साउदी सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मा लगाएको थियो । साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै आइतबार विहान सवा ९ बजेतिर एयर इण्डियाको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
मगरलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली गत मंगलबार साउदी अरब गएको थियो । बमको हत्यामा संलग्न मगर इन्टरपोलको सहयोगमा गत चैत्र १० गते साउदीमा पक्राउ परेका थिए । चैत १० मा पक्राउ मगरलाई पाँच महिनापछि नेपाल ल्याइएको हो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायधीश बमको ०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भएको थियो । चुरे भावरका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या भएको थियो ।
हत्यामा संलग्न बाबुसहित चार जनालाई प्रहरीले गत पुसमा नै पक्राउ गरेको थियो । न्यायाधीश बममाथि गोली हान्ने सुटर रामेछापका स्माइली भने रोजगारीका लागि साउदी अरब पुगेका थिए ।













प्रतिक्रिया