१० कार्तिक २०८३, मंगलबार

ज्ञान भएका मानिस पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्छन् : अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृति रहेको बताएका छन् । मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्नने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् ।

स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले भाषा, संस्कृति, कला र वाणीमा भिज्ने व्यक्ति समाजका लागि असल र मानवतावादी हुनसक्ने बताए । उनले धेरै ज्ञान भएका मानिसहरु पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे ।

ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्ने बताए । अष्टाङ्ग योगको यम र नियमको प्रसङ्ग उल्लेख गर्दै उनले हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र अरूको सम्पत्तिमा लोभ नगर्ने व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ, त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट,’ उनले भने, ‘हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा हुन्छ। अस्तेय, अरूको सम्पत्तिमा लोभ नगर। आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर।’

कार्यक्रममा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापनाका क्रममा जग्गा प्राप्तिका लागि भएको प्रयासबारे पनि चर्चा गरे । उनले २० बिघा जग्गा उपलब्ध गराउने प्रयास भए पनि पार्टीभित्रकै असहमतिका कारण सात बिघा जग्गामा सम्झौता गर्नुपरेको बताए ।

उनका अनुसार २०५१ सालमा सरकार बनेपछि मङ्गलबारेमा रहेको ऐलानी जग्गामध्ये २० बिघा मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई दिन खोजिएको थियो । सुरुमा ‘मदन भण्डारी प्रतिष्ठान उर्लाबारी’ नाम राखिएकोमा पछि प्रतिष्ठानलाई स्थानीय क्षेत्रमा मात्रै सीमित ठानिने अवस्था नहोस् भनेर ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल’ नामकरण गरिएको उनले बताए ।

ओलीले प्रतिष्ठानका लागि २० बिघा जग्गा उपलब्ध गराउने प्रस्तावमा पार्टीभित्रै असहमति रहेको स्मरण गरे ।

‘पार्टीभित्र मदन भण्डारी र मदन भण्डारीका विचार मन नपराउने साथीहरूको काफी सङ्ख्या थियो। करकापले उहाँहरू मदन भण्डारी भन्न बाध्य हुनुहुन्थ्यो तर मदन भण्डारी मन नपराउने, त्यो पङ्क्ति थियो,’ उनले भने ।

उनले जग्गाको विषयमा सहमति हुन नसकेपछि सात बिघा जग्गामा चित्त बुझाउनुपरेको बताए ।

‘त्यसकारण २० बिघा कुनै हालतमा उहाँहरूले “किन चाहियो त्यत्रो जमिन ?” भनेर मान्नुभएन र सात बिघा- अघि १० कट्ठा दिने भन्या थियो, १० बिघा बिना हुँदैन भनेपछि सात बिघा जमिनमा गएर हामी रोकियौँ र मैले पनि त्यसमा कम्प्रमाइज गर्नुपर्‍यो र सात बिघा जमिन हामीले त्यहाँ लियौँ,’ उनले भने ।