धनगढी । हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ ।
भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिएलगत्तै फेरि भारत जान थालेका हुन् ।
भारतसँग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टाबाट पछिल्लो तीन दिनयता दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारत जाने गरेको प्रहरीको भनाइ छ ।
‘भारत जाने नेपालीको यकिन तथ्यांक राख्ने गरिएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक(डिएसपी) योगेन्द्र तिमिल्सिनाले भने, ‘तर दशैंको दोस्रो दिनदेखि नै भारत जाने नपालीको चाप धेरै बढेको छ, दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारततर्फ गइरहेका छन् ।’
भारतमा काम गर्दै आएका नेपाली छुट्टीमा दशैं मनाउन आउने गरेको र लगत्तै भारत फर्कनुपर्ने बाध्यता रहेको डिएसपी तिमिल्सिना बताउँछन् ।
सोमबार गौरीफन्टा नाका हुँदै भारत जाँदै गरेका बझाङका डम्बरबहादुर बोहराले भारतमै रोजगारी भएकाले दशैंलगत्तै भारत जानुपरेको बाध्यता सुनाए ।
‘दशैं मनाउन नेपाल आएको हुँ,’ बोहराले भने, ‘दशैं सकियो अब फेरि भारत फर्कन थालेको हुँ ।’ आफू परिवारसहित भारत जान लागेको उनले बताए ।
‘म मात्र होइन परिवारसहित भारत जान थालेका छौँ,’ उनले भने, ‘अब तिहार उतै मनाउने छौँ ।’
सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भारत हुने गरेको छ ।
दशैं–तिहारजस्ता प्रमुख चाड मनाउन भारतबाट घर फर्के पनि यहाँका नागरिक पुनः भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् ।















प्रतिक्रिया