काठमाडौं, ६ भदौ । कांग्रेसले पार्टीको महाधिवेशन सार्न संसदमा अन्तरिम संविधान संशोधन प्रस्ताव लैजान सरकारलाई आग्रह गर्ने भएको छ ।
पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने भएपछि कांग्रेसले १२ भदौसम्ममा अन्तरिम संविधान संशोधन हुने गरी प्रस्ताव लैजान सरकारलाई आग्रह गर्न लागेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले तत्काल संविधान नबन्ने अवस्था आएको र तोकिएको मितिमा पार्टीको १३औँ महाधिवेशन हुन पनि नसक्ने भएकाले संविधान संशोधन लागि आग्रह गर्ने निर्णय गरेको हो ।
यसबारे अन्य दलसँग पनि छलफल गर्ने बैठकको निर्णय छ ।
कांग्रेस विधानमा चार वर्षमा पार्टीको महाधिवेशन गर्ने उल्लेख छ । विशेष परिस्थितिमा एक वर्ष थप्न सक्ने पनि विधानमा व्यवस्था छ ।
तर, एक वर्ष थपेर २ देखि ५ असोजसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिएको छ । तर, अहिलेसम्म महाधिवेशनको तयारी भएको छैन ।
असोजमा महाधिवेशन नभएमा संवैधानिक संकट पर्ने भएकाले विकल्पका रूपमा संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष पदाधिकारी बैठकको छ ।















प्रतिक्रिया