८ कार्तिक २०८३, आइतबार

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् ।

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रिना यादव पनि मृत अवस्थामा फेला परेकी छन् ।

उनीमाथि धारिलो हतियारले प्रहार भएको चोटहरु देखिएको धनुषा प्रहरीले जनाएको छ ।

त्यस्तै, उनीहरु दुवै जनाको चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार भई घाइते अवस्थामा फेला परेकोले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ ।

धनुषा प्रहरीका अनुसार घटना कात्तिक ८ गते बिहान करिब १ः५० बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो । त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ । घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

त्यस्तै, उनको श्रीमान् झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।