काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान आज (शनिबार)देखि सुरु हुँदैछ ।
दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यस अभियानको औपचारिक उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
अभियानका मुख्य विशेषता तथा कार्यक्रमहरू:
सम्बोधन : उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अवधि : यो अभियान आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।
उद्देश्य : राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संस्थागत विकास, जनजीविकाका सवालहरू, पार्टी समायोजन, सङ्गठित सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरण गर्ने यस अभियानको मुख्य लक्ष्य हो ।
अभियानअन्तर्गत सञ्चालन हुने प्रमुख गतिविधिहरू:
सङ्गठन सुदृढीकरण : पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनका बाँकी कामहरू सम्पन्न गर्ने तथा सदस्यता नवीकरण र विस्तार तीव्र पार्ने।
जनतासँग सम्बन्ध : पार्टीका बैठक, भेला, प्रशिक्षण, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूसँगै जनताकेन्द्रित गतिविधि सञ्चालन गर्ने ।
जनजीविका र सेवा : जनताका माग तथा दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने। साथै, श्रम तथा जनसेवाका कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सहयोग पुर्याउने ।
ज्ञापनपत्र तथा ध्यानाकर्षण : महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा लगायतका जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । यस अन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिनेछ ।
नेकपाको केन्द्रीय संयोजन समिति बैठकले यस जागरण अभियानसँगै आगामी स्थानीय तहको निर्वाचन अगाडि वडा र पालिका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।















प्रतिक्रिया