हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ भावना मार्गमा श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब १ः४५ बजे ४६ वर्षीय शंकर कार्की र उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्कीबीच विवाद भएको सूचना प्राप्त भएको थियो ।
महिलाको माइती पक्ष रामेछापबाट फोन नउठेको जानकारी आएपछि शंकरकी दिदी हेटौंडा–९ लामसुरे निवासी भवानी महत भाइबुहारीको घर पुगेकी थिइन् ।
घरको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएपछि उनले स्थानीयलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीय तथा दिदीभिनाजुको रोहबरमा दोस्रो तलामा भर्याङको सहायताले चढेर ढोका फोडी हेर्दा शंकर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीका अनुसार घाइते चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ ।
उनको अवस्था मध्यम रहेको बताइएको छ ।
उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । थप उपचारका लागि उनका छोराले चितवन लगेका छन् ।
घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो र इँटा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको समयमा घरमा श्रीमान्–श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा टोली खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि प्रहरी निरीक्षक उमाशंकर प्रसादको टोली घटनास्थल तथा अस्पताल पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।















प्रतिक्रिया