काठमाडौँ, ५ भदौ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल वरिपरिको पर्खाल गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्प एवम् वर्षाले भत्कन थालेको छ ।
गौशालाचोक–जयवागेश्वरी मन्दिरदेखि सिफलचौरको सेरोफेरोमा फैलिएको पशुपति भण्डारखालको पर्खाल भत्कन सुरु भएपछि यसको वरपरबाट हिँड्ने मानिसमा जोखिम बढेको छ । “बिहान–बेलुका हिँड्ने बाटोसँगैको पर्खाल भत्कन थालेपछि बाटो हिँड्न पनि डराउनुपरेको छ”–स्थानीयवासी गोपाल आचार्यले भन्नुभयो ।
ऐतिहासिक स्थल भएर पनि भण्डारखालको पर्खालको मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान नगएको उहाँले गुनासो गर्नुभयो । कोषले भण्डारखाल क्षेत्रको १०४ रोपनी जग्गामा फूलको बगैँचा बनाउने योजना अघि सारेको वषौँ बितिसक्दा पनि कार्यानवयन नगर्दा पवित्रस्थल पशुपति क्षेत्रको भण्डारखाल ट्यापे, गँजडी र अश्लील जोडीको क्रीडास्थलका रुपमा विकास भएको स्थानीयवासी श्याम वैद्य बताउनुहुन्छ ।
कोषका पूर्व कोषाध्यक्षसमेत रहनुभएका स्थानीयवासी नरोत्तम वैद्य भण्डारखाल लिच्छविकालीन बस्ती रहेको ऐतिहासिक स्थल भएको तथ्य पुरातत्व विभागले उत्खनन् गर्दा फेला परेको प्रमाणबाट प्रमाणित भएको बताउनुहुन्छ । “गत वर्षको उत्खननमा पोखरी र त्यसअघि पर्खाल भेटिएको थियो, उत्खननमा पाइएका अन्य सामग्रीबाट यो स्थानमा लिच्छविकालीन बस्ती रहेको प्रमाणित हुन्छ”–उहाँले भन्नुभयो ।
हरिसिद्धिको १२ वर्षे मेला भण्डारखालको सुनको प्रवेशद्वारबाट छिराइने र चाँदीको द्वारबाट निकालिने गरेको छ । कङ्क्रिटको जङ्गलमा परिणत भएको उपत्यकाको बीचमा रमाइलो जङ्गलका रुपमा बाँकी रहेको यो ऐतिहासिक स्थललाई संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।
कोषका सदस्यसचिव डा गोविन्द टण्डन ऐतिहासिक स्थल भण्डारखाललाई संरक्षणका लागि गुरुयोजना बनाई लागू गरिने तयारी गरिएको बताउनुहुन्छ । “भण्डारखाललाई व्यवस्थित बनाउने योजना बनेको छ, यसलाई कार्यान्वयन गराउने तयारी गरेका छौँ”–उहाँले भन्नुभयो ।















प्रतिक्रिया