३ कार्तिक २०८३, मंगलबार

दशैंको रौनकसँगै किसानलाई धान भित्र्याउने चटारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेपालीहरूको महान् पर्व बडादशैंको रौनक बढेसँगै कैलालीको धनगढीमा किसानलाई धान काट्ने र भित्र्याउने चटारो परेको छ ।

दशैंको उत्सवसँगै खेतमा पाकेको धान भित्र्याउन किसानहरू व्यस्त भएका छन् । 

चाडपर्व मनाउने तयारीसँगै किसानले खेतमा धान काट्ने, सुकाउने र थ्रेसर मेसिनको सहायताले धान झार्ने कामलाई पनि तीव्रता दिएका छन् । स्थानीय किसानका अनुसार दशैंको रमझमसँगै अहिले खेतीपातीको काम पनि उत्तिकै अघि बढिरहेको छ । एक स्थानीय किसान भन्छन्, ‘दशैं मनाउने समय भए पनि अहिले धान भित्र्याउने बेला हो । त्यसैले चाडपर्वसँगै खेतीपातीको कामलाई पनि निरन्तरता दिइरहेका छौँ ।’

धान भित्र्याउने कामलाई सहज बनाउन किसानले थ्रेसर मेसिनको प्रयोग गर्ने गरेका छन् । थ्रेसर मेसिनबाट कम समयमा धेरै धान झार्न सकिने भएकाले किसानलाई केही सहज भएको छ । अहिले धनगढीका विभिन्न स्थानमा थ्रेसर मेसिन चालकहरू पनि धान झार्न व्यस्त छन् ।

एक थ्रेसर मेसिन चालक भन्छन्, ‘अहिले दशैंसँगै धान काट्ने र भित्र्याउने काम भइरहेको छ । किसानलाई धान झार्न भ्याइनभ्याई छ । हामीले पाँच बाटा धान झार्दा एक बाटा धान ज्यालास्वरूप लिने गरेका छौँ ।’

दशैंको चहलपहलसँगै धनगढीका खेतमा देखिएको धान भित्र्याउने व्यस्तताले किसानका लागि चाडपर्वसँगै कृषि कर्म पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखाउँछ । वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान सुरक्षित रूपमा घर भित्र्याउन किसान जुटिरहेका छन् ।

एकातिर दशैं मनाउने तयारी छ भने अर्कोतिर पाकेको धान समयमै भित्र्याउने चटारो छ । यसरी धनगढीमा दशैंको रौनकसँगै किसानको दैनिकी खेतबारीमै बितिरहेको छ ।