काठमाडौं । बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ ।
युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतल लगायतका वस्तु प्रहार गरेको देखिएको थियो ।
बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा भनेका छन् ।
क्विन्टिनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रसेल्समा अहिले भइरहेको घटना अब सामान्य प्रदर्शन मात्र रहेन । यो हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा हो। संघीय प्रहरीले स्थानीय प्रहरीलाई सहयोग गरिरहेको छ । उपद्रवीहरूलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम गर्न आवश्यक सबै उपाय अपनाइनेछ ।’
फ्रान्समा विद्यालयको पूर्वाधारको अवस्था र शिक्षा क्षेत्रमा बजेट कटौती गरिएको आरोपविरुद्ध सुरु भएको आन्दोलन पछि इन्धनको मूल्यवृद्धि तथा जीवनयापनको बढ्दो लागतविरुद्धको बृहत् प्रदर्शनमा परिणत भएको छ ।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घट्दै गएको विरोधमा भएका प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएको बताएका छन् ।
तीमध्ये एक लाख १० हजार प्रदर्शनकारी राजधानी पेरिसमा सहभागी भएका थिए । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको उनले बताए ।
विद्यार्थीहरूको नेतृत्वमा भइरहेको आन्दोलनका क्रममा देखिएको हिंसाप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले कडा प्रतिक्रिया जनाएका छन् ।
पछिल्ला केही सातादेखि विद्यार्थीहरूले विद्यालयको दयनीय अवस्था र प्रहरीको अत्यधिक बल प्रयोगको विरोधमा हिंसात्मक प्रदर्शन गर्दै आएका छन् ।
म्याक्रोंले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमार्फत तोडफोड र लुटपाटमा संलग्न प्रदर्शनकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘अराजकता फैलाउनेहरू’विरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार पूर्व ‘यल्लो भेस्ट’ आन्दोलनका केही अगुवाहरू पनि उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको समर्थनमा जारी प्रदर्शनमा सहभागी हुने तयारीमा छन् ।
फ्रान्समा सन् २०१८ मा सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनले इन्धनको बढ्दो मूल्य र आर्थिक असमानताविरुद्ध हजारौँ मानिसलाई सडकमा उतारेको थियो । उक्त आन्दोलनका क्रममा प्रहरीले रबरका गोली प्रहार गर्दा दुई हजार ५०० भन्दा बढी प्रदर्शनकारी र एक हजार ८०० प्रहरी कर्मचारी घाइते भएका थिए ।
यसैबीच, इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीले देशका प्रमुख सहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनको कडा निन्दा गरेकी छन् ।
इटालीको ‘इटाली इन द स्क्वायर’ समितिले आयोजना गरेका प्रदर्शनहरू गम्भीर झडप, ठूलो संख्यामा पक्राउ र सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडमा परिणत भएको इटालियन प्रसारक राई न्युजले जनाएको छ । एएनआई















प्रतिक्रिया