१ कार्तिक २०८३, आइतबार

यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । 

देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्‍याएको अवस्थामा यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने भएको हो ।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले २०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह सुरु गरेका थिए । केही वर्ष विशेष कारणले कार्यक्रम आयोजना हुन नसके पनि त्यसयता कांग्रेसले यसलाई निरन्तरता दिँदै आएको छ ।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन् ।