काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैं गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् ।
बडादशैंको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो ।
दशैंका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै…’ र ‘हो दशैं आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैं गीतमा संगीत दिएका हुन्।
गीतमा कृष्ण विक र जुनु रिजालको स्वर, वेद जोशीको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ ।
महाराज थापाले संगीत संयोजन गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतको भिडियोमा सञ्जय विश्वकर्मा र सञ्जना गुरुङले अभिनय तथा नृत्य गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिम्जन)ले गरेका हुन् ।
रातो टीका, जमरा, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखिएको गीतले दशैँको उल्लासलाई प्रस्तुत गरेको छ ।
अधिकारीको अनुभव र नयाँ पुस्ताका गायक कृष्ण बीकको सहकार्यमा तयार भएको गीतले पुराना दशैं गीतको सम्झना दिलाउँदै नयाँ पुस्ताका श्रोतामाझ पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ । लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको गीत कृष्ण बीकेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।















प्रतिक्रिया