काठमाडौं, ५ भदौ । नयाँ संविधानको पहिलो विधेयक पेश गर्नका लागि संविधानसभाको पहिलो बैठक आह्वान गरिएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज (शनिबार) संविधानसभाको बैठक आह्वान गरेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष ज्यूले भोलि आइतबार बेलुका छ बजेका लागि संविधानसभाको बैठक आह्वान गर्नुभएको छ ।’
स्रोतका अनुसार भोलिको संविधानसभा बैठक कृष्णप्रसाद सिटौलाको मस्यौदा समितिले बुझएको नयाँ संविधानको पहिलो विधेयक पेश हुने कार्यक्रम छ ।
दुई पटक पाएको समयपछि मस्यौदा समितिले शुक्रबार राति नौ बजे आफ्नो प्रतिवेदन संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाएको थियो ।
संविधानको मस्यौदामा सिमाङ्कनसहितका सात प्रदेश समेटिएको छ । धर्मनिरपेक्षता, नागरिकतालगायतका विषयमा भने मस्यौदामा विवाद यथावत छ ।
ती विषयमा सहमति जुटाउने प्रयास गरिने नेताहरूले बताएका छन् । सहमति हुन नसके प्रक्रियाअनुसार अगाडि बढ्ने जनाइएको छ ।












प्रतिक्रिया