काठमाडौं । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ ।
हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको सप्तमी तिथि (फूलपाती)को दिन आयोजना हुने समारोहमा विभिन्न किसिमले बढाइँ गर्ने प्रचलन छ ।
नेपाली सेनाले काठमाडौंको ऐतिहासिक सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गोरखा दरबारबाट ल्याइएको फूलपाती वसन्तपुर दरबारस्थित दशैं घरमा भित्र्याउँदैछ । उक्त फूलपाती बढाइँका क्रममा नेपाली सेनाले राइफलद्वारा सयौं राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौँ तोप पड्काएर चर्को आवाजसहित बढाइँ गर्ने गर्दछ ।
यसरी निस्कने तोप तथा विष्फोटको चर्को आवाजले गर्दा आकाशमा उडिरहेका निर्दोष चराचुरुङ्गीहरूको भने ज्यान नै जानसक्ने पन्छी संरक्षणकर्मी रमेश चौधरी बताउँछन् ।
चौधरीले तोप, पटका तथा मानव सिर्जित चर्को आवाजले चराहरूमा तत्कालीन र दीर्घकालीन दुवै प्रकारका गम्भीर क्षति पुर्याउने बताउँछन् ।
संरक्षणकर्मी चौधरीले भने, ‘एक त उनीहरूको ब्रेन ह्यामरेज हुने अथवा कमजोर मुटु भएकाहरूको मुटु नै फुटेर मर्ने सम्भावना हुन्छ । चर्को आवाजका कारण चराहरू तर्सिएर तल खस्छन् । उनीहरूको सुन्ने क्षमताभन्दा बढी आवाज भयो भने नलागे पनि चराहरू भुइँमा खस्छन् । हामीले मानवकेन्द्रित भएर मात्र सोचिरहेका छौँ, पन्छी संरक्षणको हिसाबले यो वातावरणमैत्री होइन ।’
यस्तो चर्को ध्वनिका कारण चराहरूको प्रजनन प्रक्रिया र उडान मार्गमा समेत नराम्रो असर पर्ने गर्दछ । विशेषगरी बसाइँसराइ गर्ने चराहरूले ताराको स्थिति, प्राकृतिक ल्यान्डमार्क र पृथ्वीको चुम्बकीय क्षेत्रको सहारा लिएर पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने गर्छन्, तर अचानकको ठूलो आवाजले उनीहरूमा दिशाविहीनता निम्त्याउँने चौधरीको भनाइ छ ।
आफ्नो दिशा पत्ता लगाउन नसक्दा चराहरू बाटो बिराएर हराउने, उनीहरूको नियमित बासस्थान छुट्ने, बोली परिवर्तन हुने र अन्डा पारेको भए ती अन्डाहरू नष्ट भएर अन्ततः लोप हुने खतरा रहने चौधरीको भनाइ छ ।
विभिन्न अध्ययनहरुका अनुसार कोलाहल र ध्वनी प्रदूषणका कारण प्राणी प्रजातिको व्यवहार परिवर्तन मात्र होइन चराहरूले सबैभन्दा ठूलो समस्या भोगिरहेका छन् ।
त्यस्तै, प्रजननमा नकारात्मक असर पर्नुका साथै ध्वनि प्रदूषणका कारण चराहरुमा मिलन, बच्चा हुर्काउन र खाना खोज्न समेत समस्या हुने गरेको छ ।















प्रतिक्रिया