१ कार्तिक २०८३, शनिबार

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

बडादशैं-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गरेका हुन् । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दशैंले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले बडादशैंले विपद्को सामना गर्ने शक्ति, विकासप्रतिको साझा प्रतिबद्धता र समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै, शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने शुभेच्छा व्यक्त गरे ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै विकासका योजना निर्माण गर्दा विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै, संघीय लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन संविधानको पूर्ण कार्यान्वयन, प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र तीन तहका सरकारबीच समन्वय बढाउनुपर्नेमा उनले जोड दिए । सुशासन, गुणस्तरीय सेवाप्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरे ।