काठमाडौं । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी)ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुर्याएको छ । यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउ, याक चिज र पेडा पठाएको हो ।
नेपालबाट पठाइएका यी उत्पादन दुबईस्थित मातृभूमि जनरल ट्रेडिङ एलएलसीको सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसन गरी तीन स्थानबाट बिक्री वितरण भइरहेका छन् ।
विगत दुई वर्षदेखि नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्याउँदै आएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।
उनले भने, ‘विगतमा गएको घिउले राम्रो बजार लियो, माग बढेपछि अहिले १५० केजी याक चिज, पेडा र घिउ थपेका छौँ । हामीले नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्याएर बजार विस्तार गर्ने उद्देश्यले काम गरिरहेका छौँ । दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा यूएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’
डीडीसीले यसअघि जापान लगायतका देशमा घिउ निर्यात गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने योजना बनाएको छ ।
पछिल्लो निर्यातबारे डीडीसीका महाप्रबन्धक पाण्डेले भने, ‘यसअघि सीमित परिमाणमा पठाइएका उत्पादनलाई परीक्षणका रूपमा हेरिएकोमा पछिल्लो पटक घिउको परिमाण उल्लेख्य रूपमा बढाइएको छ । यसले हाम्रो उत्पादनलाई नियमित रूपमा विदेशी बजारमा लैजाने सम्भावनासमेत बढाएको छ। निर्यातलाई निरन्तरता दिने उद्देश्यसहित हामीले दूध संकलन र उत्पादन विस्तारमा जोड दिएका छौँ ।’
विदेशी बजारलाई लक्षित गर्दै डीडीसीले यसपटक प्याकेजिङमा समेत परिवर्तन गरेको छ । दुबई पुगेको घिउ सिसाको भाँडोमा प्याक गरिएको छ भने स्थानीय उपभोक्तालाई उत्पादनसम्बन्धी जानकारी सहज बनाउन लेबलमा नेपाली र अंग्रेजीका साथै अरबी भाषा समेत प्रयोग गरिएको छ ।















प्रतिक्रिया