काठमाडौं । तराई–मधेशमा दशैंका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए ।
राकेशका अनुसार तराई–मधेशमा दशैं केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम थिए । गाउँका मानिस मिलेर चन्दा उठाउने, सामूहिक रूपमा दुर्गापूजा गर्ने तथा हनुमान र महावीरको पूजा आयोजना गर्ने परम्परा पनि दशैँ जोडिएको थियो ।

‘पहिला गाउँगाउँमा अखडा हुन्थे । प्रसिद्ध पहलवानलाई पैसा दिएर ल्याएर कुस्ती खेलाउने गरिन्थ्यो। अहिले कुस्ती खेल्ने अखडा र खेलाउने चलन दुवै कम हुँदै गएका छन्,‘ राकेशले भने ।
उनका अनुसार कुस्ती प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य मनोरञ्जन थियो । पहलवानबीचको प्रतिस्पर्धा, कसले जित्छ र कसरी प्रतिद्वन्द्वीलाई पराजित गर्छ भन्ने हेर्न मानिसहरू मेला स्थलमा जम्मा हुन्थे । मनोरञ्जनका अन्य साधन सीमित भएका बेला यस्ता प्रतियोगिता गाउँलेका लागि आकर्षणको केन्द्र बन्ने गरेका थिए ।
दशैं अवसरमा लाग्ने मेलाले गाउँका मानिसलाई एकै ठाउँमा भेला गराउने र आपसी सम्बन्ध बलियो बनाउने काम पनि गथ्र्यो । सामूहिक पूजा, चन्दा संकलन र मेलामा सहभागिताले सामाजिक सहकार्यलाई बढावा दिने गरेको राकेशको भनाइ छ । यसले पारिवारिक तथा सामाजिक मनमुटाव, ईष्र्या र द्वेष कम गर्दै आपसी सद्भाव कायम गर्न सहयोग पुर्याउने उनी बताउँछन् ।
तर, परम्परागत मनोरञ्जनका माध्यम र सांस्कृतिक गतिविधि क्रमशः घट्दै गएको उनको अनुभव छ । सयौँ वर्षदेखि चल्दै आएका कतिपय प्रचलन समयसँगै परिवर्तन हुनु स्वाभाविक भए पनि त्यसले दशैं मनाउने पुरानो शैलीमा बदलाव ल्याएको राकेशले बताए ।
उनका अनुसार तराई–मधेशमा दशैं मनाउने तरिका पहाडी क्षेत्रको भन्दा केही फरक छ । पहाडी क्षेत्रमा फूलपाती भित्र्याउने विशेष परम्परा छ भने तराई–मधेशमा घटस्थापनादेखि जमरा उमार्ने, दुर्गापूजा गर्ने, मेला लगाउने र भजनकीर्तन तथा रामलीला आयोजना गर्ने चलन छ । विजयादशमीका दिन टीका लगाउने परम्परामा समेत क्षेत्रअनुसार भिन्नता पाइन्छ ।
राकेशका विचारमा दशैं यस्ता परम्पराले धार्मिक आस्था मात्र नभई पारिवारिक सम्बन्ध, सामाजिक एकता र सामूहिक मनोरञ्जनको महत्त्व पनि बोकेका छन् । कुस्ती प्रतियोगिताजस्ता पुराना चलन घट्दै जानु तराई–मधेशको दशैं जोडिएको सांस्कृतिक जीवनमा आएको परिवर्तनको एउटा उदाहरण हो ।















प्रतिक्रिया