२९ आश्विन २०८३, बिहिबार

नेपालमा महँगी ६.३४ प्रतिशत पुग्यो, घिउ–तेलको मूल्य सबैभन्दा धेरै बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा उपभोक्ता मूल्यवृद्धि दर बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो महिना यस्तो दर ५.९६ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो। यसले गत वर्षको तुलनामा यस वर्ष बजारमा वस्तु तथा सेवाको मूल्यवृद्धिको चाप बढेको देखाउँछ।

खाद्य तथा पेय पदार्थ समूहमा मूल्यवृद्धि अझ उच्च देखिएको छ। समीक्षा अवधिमा यस समूहको मुद्रास्फीति ७.५४ प्रतिशत पुगेको छ। गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर भने ५.६९ प्रतिशत रहेको छ।

खाद्यवस्तुमध्ये घिउ तथा तेलको मूल्य वार्षिक रूपमा १६.६८ प्रतिशतले बढेको छ। त्यस्तै, फलफूलको मूल्य १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत र तरकारीको मूल्य ७.०७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य १२.७७ प्रतिशतले बढेको छ। त्यस्तै, लत्ताकपडा तथा जुत्ताचप्पलको मूल्य ७.०६ प्रतिशत र घरायसी उपकरण तथा फर्निचरसम्बन्धी वस्तुको मूल्य ६.०१ प्रतिशतले बढेको छ।

भौगोलिक क्षेत्रअनुसार तराईमा मुद्रास्फीति ६.८९ प्रतिशत पुगेको छ भने पहाडी क्षेत्रमा ६.४१ प्रतिशत र हिमाली क्षेत्रमा ५.६९ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा यस्तो दर ५.२८ प्रतिशत रहेको छ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ७.४८ प्रतिशत मुद्रास्फीति देखिएको छ। सुदूरपश्चिम प्रदेशमा भने यो दर ५.१६ प्रतिशत रहेको छ।

यसैबीच, थोक मूल्यवृद्धि पनि तीव्र भएको छ। गत वर्षको भदौमा २.१० प्रतिशत रहेको वार्षिक थोक मुद्रास्फीति यस वर्षको भदौमा बढेर ८.०८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

खाद्यान्न, यातायात तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारणको खर्चमा थप दबाब पर्ने देखिन्छ। विशेषगरी आम्दानीको ठूलो हिस्सा खाद्यान्न र दैनिक आवश्यकतामा खर्च गर्नुपर्ने न्यून तथा मध्यम आय भएका परिवार मूल्यवृद्धिबाट बढी प्रभावित हुन सक्छन्।