काठमाडौं । नबिल बैंक लिमिटेडले एनबैंक एपमार्फत आवेदन दिएर प्रयोग गर्न सकिने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार असोज २९ गतेदेखि सञ्चालनमा आएको यो कार्डका लागि ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत आवेदन दिन सक्नेछन्। बैंकको प्रणालीबाट योग्य ठहरिएका ग्राहकलाई एपमै उक्त विकल्प स्वचालित रूपमा देखिनेछ।
भर्चुअल कार्ड पूर्ण रूपमा डिजिटल हुने भएकाले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया तथा शाखा धाउनुपर्ने झन्झट कम हुने बैंकले जनाएको छ। ग्राहकले मोबाइल एपमार्फतै कार्ड प्राप्त गरी विभिन्न डिजिटल कारोबारमा प्रयोग गर्न सक्नेछन्।
यो कार्ड विशेषगरी फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ। फोनपे मर्चेन्ट क्यूआरबाट भुक्तानी स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानमा ग्राहकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
नबिल बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषणात्मक प्रणालीमार्फत कार्डका लागि योग्य ग्राहक पहिचान गरी पूर्वस्वीकृति दिने व्यवस्था गरेको छ। त्यसैले सबै ग्राहकको एपमा ‘अप्लाइ नाउ’ विकल्प देखिने नभई बैंकले योग्य ठहर गरेका ग्राहकलाई मात्र आवेदनको सुविधा उपलब्ध हुनेछ।
भर्चुअल क्रेडिट कार्ड सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच यसअघि समझदारी भएको थियो। सोही सहकार्यअन्तर्गत फोनपे मर्चेन्ट क्यूआरमा कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले डिजिटल युगको आवश्यकताअनुसार ग्राहकलाई शाखामा नगई बैंकिङ सेवा उपलब्ध गराउने प्रयासअन्तर्गत भर्चुअल क्रेडिट कार्ड ल्याइएको बताए। उनका अनुसार ग्राहकको सहजतालाई प्राथमिकतामा राख्दै बैंकले डिजिटल वित्तीय सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको छ।
बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकले नबिल बैंकका विभिन्न बैंकिङ सेवा प्रयोग गरिरहेका छन्।















प्रतिक्रिया