काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)को वेबसाइट सार्वजनिक गरेका छन् ।

इन्स्पायरमार्फत नेपालले सामाना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरुको अध्ययन अनुसन्धान गर्ने अध्यक्ष विष्णु रिमालले जानकारी दिए ।

रिमालका अनुसार इन्स्पायरमार्फत नीति,निर्मार्ता र विषय विज्ञहरुलाई एकै ठाउँमा ल्याएर विविध छलफल चलाइरहेको छ । ज्ञानको उत्पादन र रणनीतिक बहसलाई सहजिकरण गर्दै इन्स्पायरले नेपालको लोकतान्त्रिक, समाजवाद उन्मुख र राष्ट्रिय विकासको एजेण्डामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
आज सार्वजनिक भएको वेबसाइट अंग्रजी र नेपाली भाषामा पढ्न सकिन्छ ।
वेबसाइटमा पाँचवटा विधा रहेका छन् । जसमा अर्थ राजनीति,समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि र नवप्रवर्तन परराष्ट्र मामिला रहेका छन् ।
वेबसाइटमा इन्स्पायरले यसअघि गरेका नीति बहसका कार्यपत्र तथा जर्नल आलेखहरु प्रकाशित छन् । जसमा कार्यपत्र आठ वटा, विशेष प्रतिवेदन चारवटा समावेश छ ।
वेबसाइटमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनासंख्यिक संरचना, नेपाली समाजको रुपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थ राजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन, समाजको वर्ग विश्लेषण लगायतका कार्यपत्रहरु प्रकाशित गरिएका छन् । वेबसाइटमा किताबका कुरा, युथ इग्नाइट लगायतका शिर्षक छन् ।
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा राखिएका सामग्रीका विषयमा नीतिगत बहस पछि दिइएका नयाँ बिचारहरुलाई पोलिसी ल्याबमा राखिनेछ । वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाँई र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहेका छन् ।
एमालेलाई नीतिगत रुपमा बलियो बनाउन, राजनीति बाहिर चलिरहेका बहस र समाजमा चलिरहेका विषयलाई वेबसाइटमार्फत राजनीतिको मुल प्रवाहमा ल्याउने प्रयास भएको अध्यक्ष रिमालले जानकारी दिए ।
वेबसाइटमा प्रकाशित सामग्रीका बारेमा डा. युवराज खतविडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टिका ढकालले प्रकाश पारेका थिए ।















प्रतिक्रिया