काठमाडौँ, ५ भदौ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह फिजीको ६ दिने भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।
एसिया प्रसान्त क्षेत्र एकीकृत ग्रामीण विकासको सम्मेलनमा सहभागी भई आज विहान ११ः३० मा स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे उपप्रधानमन्त्री सिंहले एक देशमा लागु गरिएको कार्यक्रम अर्को देशमा कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिनुभयो ।
उहाँले सम्मेलनमा स्थानिय विकासले क्रममा एकीकृत विकास गर्नका लागि नेपालले अपनाएको नीतिको बारेमा जानकारी गराएको बताउनुभयो । सम्मेलनमा विभिन्न देशले आ-आफ्नो देशको स्थानिय क्षेत्रको बारेमा जानकारी गराएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
संविधान निर्माणका क्रममा सात प्रदेशको सहमति भएको सन्दर्भमा सिंहले सम्बाद र सहमतिको माध्यमबाट देशलाई निकास दिने बताउनुभयो । विशेष समितिमा सबै दल मिलेर जनताको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले काँग्रेसको महाधिवेशनको बारेमा केन्द्रीय समिति बसेर निर्णय लिने बताउनुभयो । उहाँले संविधान निर्माण नहुने स्थिती पैदा भए पार्टीको महाधिवेशनबारे समितिमा पार्टीमा छलफल गरेर अगाडी बढ्ने उल्लेख गर्नुभयो ।












प्रतिक्रिया