२९ आश्विन २०८३, बिहिबार

भारतीय राजनीतिमा नेहा बोरा नयाँ आशाका रूपमा उदाउँदै छिन् : महासचिव पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ एउटा नयाँ आशा र भरोसाको रूपमा उदाउँदै छिन् । शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति के हो भन्ने कुरा उनले प्रमाणित गरेर देखाइरहेकी छिन् । यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशाको सञ्चार गराएको छ । नेहा बोरा र भारतीय युवाहरूलाई हार्दिक बधाई !’

को हुन् नेहा बोरा ?

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो दिनहरुमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै आन्दोलन भइरहेको छ ।

प्रमुख विपक्षी दल कांग्रेससहित विपक्षी दलहरु र युवाहरुको समूह समेत केन्द्र सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

सोही आन्दोलनमा विपक्षी दलहरुको आन्दोलनमा देखिएकी नेतृ नेहा बोरा अहिले चर्चामा छिन् ।

नेहा भारतको वामपन्थी विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए)की राष्ट्रिय अध्यक्ष हुन् ।

सोमबार दिल्लीको सडक आन्दोलनमा २९ वर्षीया नेहा विपक्षी सांसद प्रियंका गान्धीको हात समातेर विपक्षी दलका नेता राहुल गान्धीसँगै अघि बढिरहेको देखिएकी थिइन् ।

प्रदर्शनका क्रममा नेहाले प्रहरीका अवरोधहरू (ब्यारिकेड) नाघ्दै प्रहरीहरूलाई छलेर अघि बढ्दै गर्दा र प्रहरी नियन्त्रणमा लिइएपछि पनि निडर भएर नारा लगाइरहेको देखिएकी थिइन् ।

सामाजिक सञ्जालमा उनका दर्जनौं भिडियोहरू भाइरल भएको छ ।

नेहा नीट परीक्षामा भएको अनियमितताविरुद्ध कक्रोच जनता पार्टीले गरेको विरोध प्रदर्शनहरूमा सहभागी भएपछि भारतीय राजनीतिको चर्चामा आएकी हुन् ।

जुलाईमा भएको विरोध प्रदर्शनका क्रममा नेहा आमरण अनशनमा पनि बसेकी थिइन् ।

अहिले नेहाले पनि प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिरहेकी छिन् ।

नेहा बोरा हालै इन्डिया गठबन्धनको आन्दोलनमा देखिएकी हुन् ।

केही समयअघि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा राहुल गान्धी र मल्लिकार्जुन खर्गेको उपस्थितिमा उनले मिडियालाई सम्बोधन पनि गरेकी थिइन् ।

एक अन्तर्वार्तामा नेहाले दिल्ली आन्दोलन ज्ञानेश कुमारले राजीनामा नदिएसम्म र एसआईआर प्रक्रिया फिर्ता नलिएसम्म जारी रहने बताएकी छन् ।