२९ आश्विन २०८३, बिहिबार

मोहम्मद युनुसमाथि किन खनिए प्रवासी बंगलादेशी ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नोबेल पुरस्कार विजेता समेत रहेका बंगलादेशको अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसले न्युयोर्कको जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँ रहेका प्रवासी बंगलादेशीहरूको कडा विरोधको सामना गर्नुपरेको छ ।

सोमबार युनुस विमानस्थल आइपुग्दा प्रवासी बंगलादेशीहरूको एक समूहले उनलाई घेरे र उनीमाथि गम्भीर आरोपहरू लगाए ।

केही प्रदर्शनकारीहरूले उनलाई आतंकवादीको संज्ञा दिँदै बंगलादेशीहरूको ज्यान लिएको र लोकतन्त्रलाई कमजोर पारेको आरोप समेत लगाए ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ह्वीलचेयरमा राखेर युनुसलाई बाहिर ल्याइँदै गर्दा त्यहाँ भेला भएका प्रवासी बंगलादेशीहरुले ‘फर्केर जाऊ’ भन्दै नारा लगाए र निरन्तर प्रश्नहरू गरे ।

एक जनाले उनले बंगलादेशीहरूको हत्या गरेको आरोप लगाउँदै किन अमेरिका आएको भन्दै प्रश्न गरे ।

उनीहरुले प्रहरी कर्मचारीहरुको हत्या र २ लाख नागरिकको गिरफ्तारीमा युनुस जिम्मेवार भएको आरोप पनि लगाए ।

त्यहाँ भएको होहल्लाका बीच सुरक्षाकर्मीहरूले युनुस र उनका सहयोगीलाई तत्कालै विमानस्थलभित्र सुरक्षित रूपमा लगेका थिए ।

मिडिया रिपोर्टहरूका अनुसार उनीहरु पदच्युत प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगका समर्थकहरु रहेका छन् ।

यस विषयमा युनुसको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

न्युयोर्कमा देखिएको यो आक्रोश मुख्यतया २०२४ मा शेख हसिनाको सरकार ढलेपछि बंगलादेशमा फैलिएको अशान्ति र हिंसाको परिणाम भएको बताइएको छ ।

सरकारका आलोचक तथा राजनीतिक विश्लेषकहरूले समेत अन्तरिम सरकार शान्ति सुरक्षा कायम गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै आएका छन् ।

यसैबीच, बंगलादेश सरकारले न्युयोर्क विमानस्थलमा युनुसको विरोधमा नाराबाजी गर्ने र उनको बाटो छेक्नेहरू अवामी लिगका समर्थक भएको दाबी गरेको छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका सल्लाहकार जाहिद उर रहमानले युनुसमाथि दुर्व्यवहार गर्नेहरूविरुद्ध ढाकाले कानुनी कारबाही गर्ने बताएका छन् ।

उनले मंगलबार भनेका छन्, ‘यो घटनालाई सामान्य रूपमा लिन सकिँदैन । यो अवामी लिगको आतंक हो । यसको जवाफ दिइनेछ । यस अपराधमा संलग्नहरूविरुद्ध कानुनी कारबाही गरिनेछ ।’