२८ आश्विन २०८३, बुधबार

सांसद सुनारले भने- मैले गरेको कुनै पनि कुकर्ममा पार्टी र सरकार सती जान पर्दैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै सार्वजनिक भएको एक अडियो प्रकरणलाई लिएर पुनः कडा रूपमा आफ्नो प्रष्टीकरण दिएका छन्।

आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको बताउँदै उनले यस विषयमा पार्टी, शुभचिन्तक वा मतदाताहरूले शिर झुकाउनु नपर्ने बताएका हुन् । सांसद सुनारले आफूमाथि उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न राज्यका सबै निकायलाई आग्रह गरेका छन्।

उनले स्पष्ट पार्दै भनेका छन्, ‘ममाथि उठेको प्रश्न हो, यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्। म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जान पर्दैन।’

आफू राज्यका सबै निकायले गर्ने छानबिनमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताएका छन्। आफूमाथि लगाइएका आरोपहरू प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

अडियो प्रकरणका सन्दर्भमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलालाई अनावश्यक रूपमा मिडिया ट्रायल गरिएको, अतिरञ्जित प्रचार गरिएको र तस्बिर तथा अडियो जोडेर गरिएको टिप्पणीप्रति उनले कडा आपत्ति जनाएका छन्। काल्पनिक कुराको आधारमा एक महिलालाई यसरी लखेट्नु र राज्यका जिम्मेवार निकायबाट दबाब तथा धम्कीपूर्ण वातावरण सिर्जना गरिनु आपत्तिजनक भएको उनको भनाइ छ।

आफूले कुनै गल्ती गरेको भए कानुन बमोजिम अनुसन्धान गरी सजाय भोग्न तयार रहेको दोहोर्‍याउँदै उनले निष्कर्षमा भनेका छन्, ‘जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ। तर, ती महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाले गरिएको दुर्व्यवहार मान्य छैन, त्यो गलत छ।’

उनले साँझ फेसबुकमा लेखेका छन्ः

प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् ।

म र मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । म माथि गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु ।

तर राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्राइल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडिओ जोडी टीकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाइमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? मबाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी ममाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ?

समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो रु प्रहरीको हेडक्वार्टर, सीआइबीले बारम्बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफैँ मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौ भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटनाक्रम भएको हो ।

खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होइन । प्रश्न उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन होस् । तर, उहाँ महिलामाथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ । जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।