२८ आश्विन २०८३, बुधबार

एनसीएचएलले दियो १५ प्रतिशत बोनस सेयर, ७ प्रतिशतले बढ्यो सञ्चालन आम्दानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको १५औँ वार्षिक साधारणसभाले लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ।

साधारणसभाले वित्तीय तथा बैंकिङ क्षेत्रमा आवश्यक प्रविधि र सफ्टवेयर विकास तथा जडानका लागि सहायक वा सम्बद्ध कम्पनी स्थापना गर्ने प्रस्तावलाई समेत स्वीकृति दिएको छ। यसका लागि सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउने अधिकार दिइएको छ।

एनसीएचएलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीका भुक्तानी प्रणालीमार्फत करिब २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख कारोबार फर्छ्योट भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारको संख्याका आधारमा १३ प्रतिशत र सञ्चालन आम्दानीमा ७ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीको खुद नाफा ४१ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ प्रतिशत कम हो।

एनसीएचएलले NCHL-ECC, NCHL-IPS, EFT Card Switch, National Payment Switch लगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। त्यस्तै ‘कनेक्ट आईपीएस’, कर्पोरेटपे, ‘कनेक्ट आरटीजीएस’, नेपालपे क्यूआर र नेपालपे कार्डलगायतका डिजिटल भुक्तानी उपकरण पनि सञ्चालनमा छन्।

कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ। एनसीएचएलको प्रणालीमा ५३ सदस्य बैंक तथा वित्तीय संस्था प्रत्यक्ष सदस्यका रूपमा आबद्ध छन् भने १५० भन्दा बढी गैर–बैंकिङ संस्थाहरू अप्रत्यक्ष तथा प्राविधिक सदस्यका रूपमा जोडिएका छन्।