नयाँदिल्ली। जर्मनीको फ्रान्कफर्टबाट दिल्लीका लागि उडेको एयर इन्डियाको एउटा विमानले जयपुर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।
विमान अपहरणमा परेको भन्ने खबर प्राप्त भएपछि यो आपतकालीन अवतरण गराइएको थियो । बिहान ९:०५ बजे एयर ट्राफिक कन्ट्रोल र अहमदाबादस्थित अधिकारीहरूले एयर इन्डियाको उडान एआइ २०३० सम्बन्धी आपतकालीन सूचना प्राप्त गरेका थिए। त्यसपछि उक्त उडानलाई जयपुरतर्फ मोडियो, जहाँ विमानले सुरक्षित रूपमा आपतकालीन अवतरण गर्यो। सो विमान अघिल्लो रात १०:४५ बजे उडेको थियो।
आपतकालीन अवतरणपछि विमानस्थलमा केही समय हलचल मच्चिएको थियो। विमानस्थलको सुरक्षा कार्यविधिअनुसार जयपुर प्रहरीको बम डिस्पोजल टोली, दमकल र अन्य विभिन्न सुरक्षा टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। राजस्थान प्रहरीका अतिरिक्त महानिर्देशक लगायतका वरिष्ठ प्रहरी अधिकारीहरू पनि विमानस्थलमा उपस्थित भएका थिए।
प्राथमिक जानकारीलाई उद्धृत गर्दै एक स्रोतले जनाए अनुसार, विमान मुम्बई फ्लाइट इन्फर्मेसन रिजनभित्र रहेको बेला पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेका थिए। यो कोडले गैरकानुनी हस्तक्षेप वा विमान अपहरणको संकेत गर्दछ। बोइङ ७८७-९ विमानद्वारा सञ्चालित उक्त उडानले जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेपछि सुरक्षा जाँचका लागि यसलाई ‘आइसोलेसन बे’ (सुरक्षित तथा छुट्टै राखिने स्थान) मा सारिएको थियो।
प्रहरीका सहायक आयुक्त (मालवीय नगर) शिव दयालले समाचार संस्था पीटीआईलाई बताए अनुसार बमको धम्की आएपछि फ्र्याङ्कफर्ट-दिल्ली उडानको आपतकालीन अवतरण गरिएको बारे विमानस्थलका अधिकारीहरूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसलगत्तै उक्त विमानलाई जयपुरतर्फ मोडिइएको थियो।
यद्यपि, विमानमा सवार यात्रुहरूको कुल संख्याबारे भने तत्काल आधिकारिक जानकारी प्राप्त भइसकेको छैन। यस सम्बन्धमा एयर इन्डियाको आधिकारिक विज्ञप्तिको प्रतीक्षा गरिँदै छ।











प्रतिक्रिया