ललितपुर, ५ भदौ । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी महिला फोरमको एकीकरण घोषणा भएको छ । दुई महिला संगठनबीच ललितपुरको बालकुमारीस्थित सम्पर्क कार्यालयमा भएको हो ।
पार्टी केन्द्रीय सदस्य तथा महिला फोरमका अध्यक्ष निर्मला यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिगामि संविधानको मस्यौदा विरुद्धको शान्तिपूर्ण जन आन्दोलनमा देशभर भइ रहेको बर्बरतापूर्ण दमन र सप्तरी हत्याकाण्डले सरकारको फासिष्ट चरित्र उदाङ्ग भएको बताउनु भयो ।
उहाँले अहिले मधेस, थरुहट, लिम्बुवान, खसान लगायत देशका विभिन्न प्रदेशहरूमा भइ रहेको जन आन्दोलनको जनादेश हेर्दा वर्तमान सरकारले देश चलाउने राजनीतिक बैधता गुमाउँदै गएको बताउनु भयो ।
उहाँले आन्दोलनको लक्ष्य वर्तमान जातीय राज्यको विरुद्ध सङ्घीय राज्यको स्थापना रहेको भन्दै कतिपय यथास्थितिवादी दलहरूले सङ्घीयतालाई सङ्घ र प्रदेशहरूको बिचमा राजकीय सत्ता र शासनाधिकारको साझेदारीको रुपमा नलिइ एकात्मक राज्यमा जस्तै प्रदेश संरचना निर्माणको रूपमा मात्र बुझेकाले समस्या उत्पन्न भएको बताउनु भयो ।
उहाँले बेलायतको जस्तो राज्य वा चीनको जस्तो प्रदेश संरचना बनाउनु सङ्घीयता होइन भन्ने कुरा स्पष्ट पार्नु भयो ।
आफ्नो प्रशिक्षणमुलक मन्तब्यमा उहाँले काङ्ग्रेसको एकात्मकतावादी लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले भन्दै आएको विभिन्न रूपका जनवाद असफल भएको दावी गर्दै नेपालका लागि सङ्घीय शासन प्रणाली भएको समाजवाद आवश्यक भएको, सङ्घीय समाजवादले उत्पीडित राष्ट्रियताहरू र श्रमजीवी वर्गलाई शोषणबाट मुक्त गर्ने तथा महिलाहरूलाई अंस, वंस, प्रजनन लगायत सबै हक दिने कुरा बताउनु भयो ।















प्रतिक्रिया