२१ कार्तिक २०८३, शनिबार

प्रचण्डको कुर्सीमा किन बसे गच्छदार ?, उनका शब्दमा स्वार्थैस्वार्थ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhadarकाठमाडौं, ४ भदौ । शीर्ष नेताहरूको बैठकबाट रन्किएर बाहिरिएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पत्रकार सम्मेलनमा पटक पटक आफू कार्यदलको सदस्य रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘म कार्य दलको सदस्य हुँ ।’

गच्छदारको यो भनाइमा केही आशंका र स्वार्थ लुकेको प्रस्ट देखिन्थ्यो । कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूले मुलुकलाई निकास दिन सात प्रदेशको सिमाङ्कनसहितको संघीय राज्य बनाउन शुक्रबार गरेको निर्णयप्रति असहमति जनाउँदै गच्छदारले सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्नुभएको थियो ।

उहाँले सात प्रदेशको सिमाङ्कनमा असहमति जनाए पनि संविधान निर्माणको प्रक्रियालाई असहोग नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान निर्माणमा मेरो सहयोग रहन्छ । तर सात प्रदेशमा मैले हस्ताक्षर गर्दिन् ।’

गच्छदारले पत्रकार सम्मेलनमा यसो भनिरहँदा उता भने प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको उपस्थितिमा सात प्रदेशको सहमतिमा हस्ताक्षर गरेर बाहिरिनु भएको थियो ।

चार दलका शीर्ष नेता सम्मिलित कार्यदलबाट गच्छदार अलग हुँदैछन् भनेर शुक्रबार दिनभरि नेपाली राजनीति तातीरहेका बेला गच्छदारतर्फ सबैको चासो रहनु स्वभाविक थियो । तर गच्छदारले बाहिर चर्चा र हल्ला भएअनुसार कुनै अप्रिय निर्णय लिनुभएन । उहाँको यो सुझवुझपूर्ण निर्णय र पत्रकार सम्मेलने गच्छदारको राजनीतिक उचाइ बनाइदिएको बताउनेहरू प्रसस्त भेटिएका छन् ।

सबैभन्दा पहिला त गच्छदारले शीर्ष नेताहरूको बैठकमा ‘म सात प्रदेशमा हस्ताक्षर गर्दिन् तर संविधान निर्माणमा मेरो सहयोग रहन्छ’ भन्दै बाहिरिनुभएको रहेछ । त्यसको पुष्टि सम्वाद समितिका सभापति भट्टराईले आयोजना गर्नुभएको अर्को पत्रकार सम्मेलनबाट भएको थियो ।

गच्छदार नेपाली राजनीतिका चतुर खेलाडी मानिनुहुन्छन् । उहाँको शुक्रबारको पत्रकार सम्मेलन र निर्णयले पार्टीमा असन्तुष्ट थारु सभासदहरूको मुखमा बुझोलगाउनुका साथै कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूलाई खुसी बनाउनुभएको छ ।

प्रचण्डको कुर्सीमा बसेर गच्छदारको पत्रकार सम्मेलन

फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनका लागि पुगेका पत्रकारहरू सोँचेभन्दा धेरै जम्मा भएपछि व्यवस्थापन गर्न केही समय हम्मेहम्मे पर्‍यो । तर फोरम लोकतान्त्रिकका नेता रामजन चौधरीले कुशलताका साथ त्यसलाई व्यवस्थापन गर्नुभयो ।

उहाँले तत्काल एकीकृत माओवादीको सभाहलमा पत्रकार सम्मेलनको व्यवस्था मिलाउनुभयो । पत्रकार सम्मेलनको तयारी भइरहँदा सात प्रदेशको सहमतिमा हस्ताक्षर गरेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोही हलमा आइपुग्नुभएको थियो ।

उहाँले सबै पत्रकारले सुन्ने गरी भन्नुभयो, ‘म पनि यतै बसु क्या हो ?’ पत्रकारहरू प्रचण्डाको सो भनाइसँगै हाँसे पनि । तर प्रचण्ड आफ्नो पत्रकार सम्मेलनमा आएर गएको जानकारी अध्यक्ष गच्छदारले सुइको समेत पाउनु भएन । गच्छदारले आफ्नो पत्रकार सम्मेलन अध्यक्ष प्रचण्ड बस्ने कुर्सीमा बसेर गर्नुभएको थियो ।

गच्छदारतर्फ सबै पत्रकार गएपछि बाबुरामले खबर पठाए

गच्छदारको पत्रकार सम्मेलनमा सबै पत्रकार गएपछि सहमति समितिका सभापति भट्टराईले पत्रकारलाई आफ्ना धारणा राख्न खबर पठाउनुभएको थियो । समितिका कर्मचारी हस्याङ् फस्याङ् गर्दै पत्रकारलाई बोलाउन आएका थिए । तर पत्रकारहरूले केही समय कुर्न भट्टराईलाई सूचना पठाएका थिए । झण्डै आधाघण्टा ढिला पुगेका पत्रकारसँग भट्टराईले संसद सचिवालयस्थित आफ्नो कार्यकक्षमा कुरा गर्नुभएको थियो ।

गच्छदार आफ्नो पत्रकार सम्मेलनमा धेरै पत्रकार आएको देखेपछि खुसी नै देखिनु हुन्थ्यो । उता भट्टराईको पत्रकार सम्मेलनमा भने पत्रकारहरूलाई बोलाउन खबर पठाउनु परेको थियो ।