२८ आश्विन २०८३, बुधबार

बूढीगण्डकी बाढी : ९५ जनाको उद्धार, विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ९५ जनालाई उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट टोली परिचालन गरी उनीहरूलाई सुरक्षित स्थानमा सारेको हो ।

सेनाका अनुसार असोज २५ गते आएको बाढीपछि प्रभावित क्षेत्रमा एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरिएको थियो । उद्धारका लागि स्थलमार्गबाट पनि सुरक्षाकर्मी खटिएका थिए ।

उद्धार गरिएकामध्ये जगत क्षेत्रबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, न्याक्फेदीबाट १७ जना र पायुबाट १२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, दोभानबाट तीन जना, फिलिमबाट दुई जना, नामरुङबाट तीन जना, देङ्गबाट तीन जना र धौलीबाट तीन जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको छ । बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी रहेको सेनाले जनाएको छ । उद्धार कार्यमा अन्य सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।

यसैबीच, बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि आवागमन सहज बनाउन बेलिब्रिज निर्माणको तयारी थालिएको छ । नेपाली सेनाको इन्जिनियरिङ टोली सम्भावित जडानस्थलको निरीक्षण तथा आवश्यक तयारीका लागि खटिएको छ ।