काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी ठानिएका व्यक्तिहरूबाटै धोका हुने गरेको गुनासो गरेका छन् । पार्टीभित्र आफूविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको उल्लेख गर्दै उनले विश्वास गरेका व्यक्तिबाटै चुनौती सामना गर्नुपरेको संकेत गरेका हुन् ।
आइतबार काठमाडौंको कोटेश्वरमा आयोजित एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गतको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै सहकर्मीबाट हुने व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे ।
‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने, कता नजोगिने ?’ उनले भने ।
आफूविरुद्ध जति प्रहार भए पनि पछि नहट्ने बताउँदै ओलीले महाभारतका भीष्म पितामहको प्रसंगसमेत सुनाए । आफू अझै कमजोर नभएको र विरोधीले जति प्रहार गरे पनि नढल्ने उनको भनाइ थियो ।
ओलीले आफ्नो राजनीतिक जीवन लामो संघर्षबाट अघि बढेको स्मरण गरे । करिब ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा लागेको उल्लेख गर्दै उनले यस क्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको बताए ।
राजनीतिमा लागेदेखि नै अनेक चुनौती भोगेको उल्लेख गर्दै ओलीले आफू व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको हितका लागि सक्रिय रहेको दाबी गरे ।
‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । देशका लागि लडिन्छ,’ उनले भने, ‘मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु ।’











प्रतिक्रिया