-कृष्ण पौडेल
कपिलवस्तु । बिहानै गाउँको कुनै टोलमा पुगेर सडक र नालीको अवस्था हेर्नु, फोहोर देखिए त्यसको कारण बुझ्नु, स्थानीयसँग प्रत्यक्ष संवाद गर्नु र सरसफाइका लागि सम्झाउनु, विजयनगर गाउँपालिकाका वास संयोजक अर्जुन बेल्वासेको दैनिकी यही कामबाट सुरु हुन्छ।
विगत सात वर्षदेखि उनी विजयनगर गाउँपालिकाका विभिन्न गाउँ-टोल, सडक, सार्वजनिक स्थल र समुदायमा पुगेर सरसफाइ तथा स्वच्छताको अवस्था नियाल्दै आएका छन्। उनको जिम्मेवारी कार्यालयमा बसेर योजना बनाउने वा निर्देशन दिनेमा मात्र सीमित छैन। समस्या भएको ठाउँमै पुग्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, समाधानका लागि पहल गर्ने र व्यवहार परिवर्तनका लागि निरन्तर सचेतना फैलाउने उनको मुख्य काम हो।
कुनै टोलमा सडकछेउ फोहोर थुप्रिएको भेटिए उनी त्यहाँ पुग्छन्। फोहोर कहाँबाट र कसरी आएको हो भन्ने बुझ्छन् र सम्बन्धित घरपरिवार तथा स्थानीयसँग संवाद गरेर उचित व्यवस्थापनका लागि सम्झाउँछन्। नाली थुनिएको अवस्थामा त्यसको कारण खोज्ने र आवश्यक परे तत्काल सरसफाइका लागि पहल गर्ने गर्छन्।
सार्वजनिक सडक तथा बाटोमा दाउरा, निर्माण सामग्री वा अन्य सामान राखिएको भेटिएमा त्यसले आवागमन र सरसफाइमा पार्ने असरबारे सम्बन्धित व्यक्तिलाई सम्झाउने काम पनि उनको नियमित जिम्मेवारी हो। सडकमा गाईभैंसी बाँध्ने, सार्वजनिक स्थानमा फोहोर गर्ने, बाटो अवरुद्ध गर्ने वा खुला रूपमा दिसापिसाब गर्ने गतिविधि देखिएमा उनी प्रत्यक्ष रूपमा पुगेर सचेत गराउँछन्।
‘मेरो काम भनेको समस्या देखेपछि त्यसलाई छोडेर हिँड्ने होइन। पहिला कारण बुझ्छु, सम्बन्धित व्यक्तिसँग कुरा गर्छु र कसरी सुधार गर्न सकिन्छ भनेर सम्झाउँछु। फेरि त्यही समस्या दोहोरिएको छ कि छैन भनेर पनि हेर्छु,’ बेल्वासे भन्छन्।
सम्झाउँदा पनि अटेरी गर्नेहरूका हकमा भने उनी सम्बन्धित निकायसँग समन्वय गर्छन्। पटक-पटक सम्झाउँदा पनि सुधार नभए वडा कार्यालयमार्फत सचेत गराउने र आवश्यक परे नियमअनुसार कारबाही तथा जरिवानाको प्रक्रिया अघि बढाउने गरिएको छ।
सरसफाइ अभियानलाई प्रभावकारी बनाउन उनले स्थानीय प्रहरी तथा सम्बन्धित पक्षसँग समेत समन्वय गर्दै आएका छन्। सार्वजनिक स्थानमा फोहोर फाल्ने, बाटो अवरुद्ध गर्ने, सडकमा गाईभैंसी बाँध्ने तथा पटक-पटक सम्झाउँदा पनि अटेर गर्ने गतिविधिमा निगरानी र आवश्यक कारबाहीका लागि समन्वय गर्ने काम पनि उनको भूमिकामा पर्दछ।
बेल्वासेको कामको अर्को महत्वपूर्ण पक्ष हो-घरघर र समुदायमा पुगेर चेतना फैलाउनु। चर्पीको नियमित प्रयोग, खुला दिसापिसाबको अन्त्य, फोहोरको उचित व्यवस्थापन, घरआँगन सफा राख्ने बानी, नाली सफा राख्ने तथा सार्वजनिक स्थललाई फोहोर हुन नदिने विषयमा उनी स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्छन्।
सात वर्षअघि यही विषयमा गाउँघर पुग्दा धेरै ठाउँमा एउटै कुरा पटक-पटक सम्झाउनुपर्ने अवस्था रहेको उनको अनुभव छ। सरसफाइलाई व्यक्तिगत जिम्मेवारीभन्दा पनि अरू कसैले गरिदिने कामका रूपमा हेर्ने प्रवृत्ति थियो। तर अहिले अवस्था विस्तारै बदलिँदै गएको उनी बताउँछन्।
‘पहिला एउटै कुरा पटक-पटक सम्झाउनुपर्थ्यो। अहिले धेरै ठाउँमा स्थानीय आफैं सचेत हुन थालेका छन्। समस्या देखिएपछि आफैं समाधानका लागि पहल गर्ने अवस्था पनि आएको छ,’ उनी भन्छन्।
बेल्वासेका लागि सरसफाइ केवल सडक वा सार्वजनिक स्थल सफा गर्ने अभियान मात्र होइन, नागरिकको व्यवहार परिवर्तनसँग जोडिएको विषय हो। त्यसैले कुनै ठाउँ एक दिन सफा गरेर अभियान सकिएको मान्नेभन्दा पनि समस्या दोहोरिन नदिनु उनको प्राथमिकतामा छ।
सरसफाइका क्रममा उनी फोहोर उठाउने वा सडक सफा गराउने काममा मात्र सीमित हुँदैनन्। समस्या किन दोहोरिन्छ भन्ने कारण खोज्ने, सम्बन्धित व्यक्तिलाई बुझाउने, आवश्यक परे वडा कार्यालय तथा प्रहरीसँग समन्वय गर्ने र सुधार भए(नभएको पुनः अनुगमन गर्ने कामलाई उनले निरन्तरता दिएका छन्।
गाउँमा पुग्ने, समस्या हेर्ने, नागरिकसँग कुरा गर्ने, सरसफाइका लागि सिकाउने, सुधार भए/नभएको हेर्ने र आवश्यक परे सम्बन्धित पक्षसँग समन्वय गर्ने बेल्वासेको सात वर्षे कार्ययात्रा यही चक्रमा अघि बढिरहेको छ।
सात वर्षअघिको विजयनगर र अहिलेको विजयनगरमा आएको परिवर्तन उनले सडक र सार्वजनिक स्थलमा मात्र होइन, नागरिकको सोच र व्यवहारमा समेत देखेका छन्। बाहिरबाट सम्झाउनुपर्ने ठाउँमा अहिले धेरै नागरिकले घर, टोल र सार्वजनिक स्थल सफा राख्नुपर्ने जिम्मेवारी आफैं महसुस गर्न थालेका छन्।
गाउँको गल्लीदेखि सार्वजनिक स्थलसम्म पुगेर सरसफाइको अवस्था नियाल्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, सुधारका लागि पहल गर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्ने बेल्वासेको सात वर्षे यात्रा अहिले व्यवहार परिवर्तनलाई निरन्तरता दिने अभियानमा अघि बढिरहेको छ।












प्रतिक्रिया