२८ आश्विन २०८३, बुधबार

आरोपको निष्पक्ष छानबिन होस्, दोषी ठहरिए सजाय भोग्न तयार छु : पूर्वन्यायाधीस थपलिया

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालतका पूर्वन्यायाधीश डा. नवराज थपलियाले आफूविरुद्ध सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन गर्न र अन्तिम न्यायिक निर्णय नआउँदै दोषीका रूपमा प्रस्तुत नगर्न आग्रह गरेका छन्।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै थपलियाले न्याय परिषद्बाट पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको र त्यसको अन्तिम फैसला हुन बाँकी रहेको बताएका हुन्। उनले आफूविरुद्धका आरोपलाई प्रमाणित भइसकेको तथ्यका रूपमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

थपलियाका अनुसार आफू उच्च अदालतमा कार्यरत रहँदा गरिएको छानबिनमा प्रतिवादको पर्याप्त अवसर नदिइएको र विस्तृत जाँचबुझका लागि आयोग गठन गर्न गरेको मागसमेत सुनुवाइ नभएको थियो। उनले सर्वोच्च अदालतबाट हुने अन्तिम निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्।

उनले आफूलाई एक महिलासँग मुद्दा मिलाइदिने भन्दै ६० लाख रुपैयाँ मागेको आरोपसमेत समाचारमा आएको उल्लेख गरेका छन्। ती महिलासँग आफ्नो कुनै सम्पर्क वा सम्बन्ध नरहेको उनको दाबी छ। उक्त आरोपसँग जोडिएकी पदमा संग्रौलाको मुद्दा र त्यससँग सम्बन्धित घटनाक्रमबारे पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले बताएका छन्।

वक्तव्यमा थपलियाले युनिटी लाइफसम्बन्धी मुद्दा र त्यससँग जोडिएका समाचार तथा अडियो संवादको विषयसमेत उठाएका छन्। तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठ, न्याय परिषद्का तत्कालीन सहसचिव मानबहादुर कार्की र सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा कार्यरत आदर्श श्रेष्ठसँग सम्बन्धित विषयको सत्यतथ्य छानबिन गर्न उनले आग्रह गरेका छन्।

युनिटी लाइफसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध नेपाल सरकारले पुनरावलोकन निवेदन दिएको प्रसंग उल्लेख गर्दै उनले सर्वसाधारणबाट संकलित रकमबाट खरिद गरिएको भनिएको सम्पत्तिको अवस्थाबारे समेत अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

थपलियाले आफू दोषी ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको बताएका छन्। तर, छानबिन र न्यायिक प्रक्रिया पूरा हुनुअघि समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाका आधारमा निष्कर्ष निकाल्दा आफ्नो सामाजिक प्रतिष्ठा र परिवारको सम्मानमा असर परेको उनको भनाइ छ।

उनले विचाराधीन विषयमा समाचार प्रकाशन गर्दा तथ्य र प्रमाणलाई आधार बनाउन तथा आफ्नो परिवारको गोपनीयता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ख्याल गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेका छन्।

यस्तो छ थपलियाको भनाइ–

सबैमा नमस्कार!

विभिन्न सञ्चारमाध्यममा मेरो विषयमा प्रकाशित समाचार तथा ती समाचारका आधारमा सामाजिक सञ्जालमा व्यक्त भइरहेका धारणा र प्रतिक्रियाका सम्बन्धमा म आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित सबैमा केही सार्वजनिक अनुरोध गर्न चाहन्छु।

उच्च अदालतको न्यायाधीस पदमा कार्यरत रहदा नेपालको संविधानको धारा १५३(१) अनुसार गठित न्याय परिषदमा मेरो बिरुद्द कुनै मुद्दाको पक्ष वा कुनै नागरिकले पनि धारा १५३(३)(४) बमोजिम उजुरी नगरेको अवस्थामा, धारा १३२(१) संबैधानिक व्यबस्था बिपरित सर्बोच्च अदालतका न्यायाधीस श्री तिल प्रसाद श्रेष्ठ ( मेरो बिरुद उजुरी दर्ता हुदा उच्च अदालतको मुख्य न्यायाधिश पदमा कार्यरत) लाई सर्वोच्च अदालतमा नियुक्त्त गरि करिब ५ महिना पश्चात् म उपर छानबिन गर्न लगाइएको थियो | निज श्री तिल प्रसाद श्रेष्ठले बुझाएको प्रतिबेदन र प्रतिबेदन उपर धारा १५३(५) को संबैधानिक व्यबस्था अनुसार बिशेषज्ञबाट बिस्तृत छानबिनको लागि जांचबुज आयोग गठन गर्न माग गर्दा समेत त्यसको ब्यवास्ता गरि बुझाएको प्रतिबेदन र त्यस उपर प्रतिवादको मौका समेत नदिई हाल सम्म गुपचुप राखीएको प्रतिबेदनको आधारमा न्याय परिषदबाट मलाई पदमुक्त गरिएको निर्णय उपर सम्मानित सर्बोच्च अदालतमा मेरो रिट निबेदन विचाराधीन रही अन्तिम निर्णय हुन बाँकी रहेको हुँदा ममाथि लगाइएका आरोपहरूलाई अन्तिम रूपमा प्रमाणित भइसकेको निष्कर्षका रूपमा नलिइदिनुहुन अनुरोध गर्दछु। म सम्मानित सर्वोच्च अदालतबाट हुने अन्तिम निर्णय र कानुन बमोजिम हुने परिणामलाई स्वीकार गर्ने मेरो प्रतिबद्धता छ ।

तर, अन्तिम न्यायिक निर्णय हुनुअघि नै प्रकाशित समाचार वा सामाजिक सञ्जालमा व्यक्त धारणाका आधारमा कुनै व्यक्तिलाई दोषी ठहर गर्नु उचित हुन्छ कि हुँदैन भन्ने विषयमा पनि सबैले गम्भीरतापूर्वक सोचिदिनुहुनेछ भन्ने मेरो अपेक्षा छ।

मलाई मात्र होइन, मेरो घरपरिवारका सदस्यहरूलाई समेत संविधानप्रदत्त अधिकार अनुसार स्वतन्त्र, सम्मानजनक र भयमुक्त जीवनयापन गर्ने हक छ। विचाराधीन विषयमा अन्तिम निर्णय नहुँदै व्यक्तिको सामाजिक प्रतिष्ठा, व्यक्तिगत जीवन र परिवारको सम्मानमा पर्ने असरप्रति संवेदनशील भइदिनुहुन म सबैमा हार्दिक अनुरोध गर्दछु।

मिति २०८३ असोज २२ गते ११.५४ मा सेतोपाटि डिजिटल पत्रिकामा “चोलेन्द्र निकट भन्दै…….शीर्षकमा शोभा शर्मा र युनिक श्रेष्ठको नामको समाचार प्रकासन पश्चात सामाजिक संजालमा उत्त विषय संग सम्बन्धित प्रकासित समाचारमा निम्न तथ्यको पनि अनुसन्धान गरि समाचार प्रकासित गरिदिन अनुरोध गर्दछु :-

१. मैले मुद्दा मिलाउँन भनि एकजना महिलासंग ६० लाख मागेको भनि आरोप लगाएको छ, हालसम्म ति महिलासंग मेरो कुनै प्रकारो सम्बन्ध सम्पर्क छैन |

२. मसंग जोडिएर समाचार आएपछि उनको बारेमा उनको मुद्दाको कानुन ब्याबशायि साथीहरुसंग बुझ्दा पदमा संग्रौला हुनुहुदो रहेछ | त्यस बिषयमा उत्त मुद्दामा संलग्न कानुन व्यवसायी साथिहरुसँग

बुझ्दा थप प्रष्ट हुनेछ ।

३. मेरो उपर न्याय परिषदमा छानबिन चलिरहेको समयमा मिति मिति २०८० पुस १२ गते १५.०२ मा नेपाल प्रेस डिजिटल पत्रिकामा “ सर्बोच्चका श्रीमान…… शीर्षकमा प्रकासित समाचार र अडियो बार्ताबाट युनिटी लाईफका श्री सर्बोच्च अदालतमा मुद्दा विचाराधीन एक प्रतिवादी, श्री सर्बोच्च अदालतक न्यायाधीस श्री तिल प्रसाद श्रेष्ठ( हाल अवकास प्राप्त), न्याय परिषदमा तत्तकालिन समयमा कार्यरत सह सचिब मान बहादुर कार्की र सर्बोच्च अदालतमा तत्कालिन समयमा आइटि शाखामा कार्यरत आदर्श श्रेष्ठ ( तिल प्रसाद श्रेष्ठको ज्वाइँ नाताका, बहिनीको देवर ) बिच निज पदमा संग्रौलाको होटेल द एल्लो हाउसमा मेरो बिरुद्द बोलिदिएमा मुद्दाम सहयोह गरिदिने कुराकानी भएको भनि नेपाल प्रेसमा प्रकाशित समाचारमा आरोप लगाएको रहेछ |यस बिषयमा निज पदमा संग्रौलाले आफ्नो श्री काठमाडौँ जिल्ला अदालतमा बिचाराधिन मुद्धा नं. ०७९-C२- ०१३० मा मिति २०८० जेठ ३१ बयान गरेको देखिन्छ, यस सम्बन्धमा सत्य तथ्य सहित छानबिन गरि दोषी उपर कारवाहीको लागि अनुरोध गरेकि रहेछिन् |

४. सोहि युनिटी लाईफको श्री सर्बोच्च अदालतमा विचाराधीन मुद्दा नं. ०७४-CR- १११७ समेतको मुद्दा मिति २०८२ बैसाख २ गते तिल प्रसाद श्रेष्ठ सहितको संयुक्त इजलासबाट फैसला भइ उक्त्त फैसला उपर नेपाल सरकारको पुनरावलोकंनको निबेदन परि विचाराधीन छ | तथापी उक्त्त फैसला पश्चात जनताको नामबाट उठेको पैसाबाट खरिद गरिएको सम्पति के कस्तो अवस्थामा छ , छानबिन गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु|

म संग जोडिएर मुद्दा मिलाउँन भनि एकजना महिलासंग ६० लाख मागेको तथा युनिटी लाईफ ठगि मुद्दामा प्रकाशित समाचरको सम्बन्धमा म पनि न्यायाधिश समाजको सदस्य भएको नाताले मेरो छानबिनको कार्यमा संलग्न भइ तपाईंले गरेको काम कार्यको बिषयमा तपाइको नाम पनि जोडिएको कारण न्यायाधीशको हक हितका लागि स्थापित न्यायाधिश समाजका अध्यक्ष श्री तिल प्रसाद श्रेष्ठज्युसंग न्यायाधीस समाज र तपाईंको धारणा सार्बजनिक गर्न अनुरोध गर्दछु।

साथै म पनि न्यायपालिका संग जोडिएकोले म कोसंग कुन मुद्धा मिलाउन सामेल भए, मेरो काम कार्यले बिकृति , विसंगति रहित स्वत्रन्त्र न्यायपालिका निर्माणमा के असर पर्यो ? सत्य तथ्य प्रमाण सहित छानबिन गरिदोन र दोषि देखिएमा हदैसम्मको कारवाहीको भोग्न तयार रहेको अवगत गराउदै मेरो संबिधान र कानुनले सम्मानपुर्बक बाच्न पाउने हक सुरक्क्षित् गरिदिन म न्यायिक नेतृत्वसंग अनुरोध गर्दछु|

अन्त्यमा, कुनै व्यक्ति विशेषसँग चिनजान, सम्पर्क वा सम्बन्ध रहेको भन्ने आधारमा व्यक्तिको व्यक्तिगत काम कारबाहीलाई स्वतः त्यससँग जोडेर निष्कर्ष निकाल्नु, समाचार प्रकाशित गर्नु के न्यायाचोत हुन्छ ? म पनि यस देशको नागरिक तथा न्यायपालिकामा सेवा गरेको व्यक्ति भएकाले संविधान र कानुनले प्रदान गरेका हकबाट वञ्चित छैन। ममाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा मेरो कुनै आपत्ति छैन। म राज्यका सम्बन्धित निकायबाट संविधान र प्रचलित कानुन बमोजिम हुने छानबिनमा उपस्थित भई सहयोग गर्न प्रतिबद्ध छु। तर, छानबिनको निष्कर्ष र न्यायिक निर्णय आउनुअघि नै आरोपलाई अन्तिम सत्यका रूपमा प्रचार गरिँदा व्यक्तिको सामाजिक प्रतिष्ठा, मानसिक शान्ति, व्यक्तिगत स्वतन्त्रता र परिवारको जीवनमा गम्भीर असर पर्न सक्छ। त्यसैले, मसँग सम्बन्धित विषयमा समाचार प्रकाशन गर्दा तथा सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दा मेरो परिवारको गोपनीयता, सम्मान र स्वतन्त्र जीवनयापन गर्ने अधिकारलाई समेत ध्यानमा राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु।