२८ आश्विन २०८३, बुधबार

बाढीपहिरो प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज ८ देखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई सरकारले तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रभावित स्थानीय तह तथा वडालाई संकटग्रस्त क्षेत्रको सूचीमा राखेको हो। यस घोषणाले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अघि बढाउन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सरकारको निर्णयअनुसार गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ संकटग्रस्त क्षेत्रमा परेका छन्। मनाङमा चामे गाउँपालिका, नासो गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ लाई पनि उक्त सूचीमा समावेश गरिएको छ।

म्याग्दीका भने अन्नपूर्ण, रघुगंगा, मंगला, धवलागिरि र मालिका गाउँपालिकासहित बेनी नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यसैगरी बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिका यस सूचीमा समेटिएका छन्।

पर्वतमा जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नम्बर २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका वडा नम्बर ६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका वडा नम्बर ५ पनि सरकारले तोकेको सूचीमा परेको छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार संकटग्रस्त क्षेत्र घोषणा तीन महिनासम्म लागू हुनेछ।