२८ आश्विन २०८३, बुधबार

आमाको काख

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-शंकर भण्डारी

आमाको काखबाट छुट्दा
झोलामा केही लुगा थिए,
मुटुमा गाउँको एउटा आँगन
र बुवाको हातबाट छुटेको न्यानोपन
औँलाहरूमा अझै बाँकी थियो।
भोलिको उज्यालो खोज्दै
हामीले आफ्नै आज
परदेशको बाटोमा बिसायौँ।

उता,
आमाको आँखामा साँझहरू थुप्रिँदै गए,
बुवाको चौतारीमा
एउटा खाली ठाउँ स्थायी भयो।
ढोकाले हरेक साँझ
कसैको आगमन पर्खिरह्यो,
तर समयको हुलाकीले
छोराको खबरबाहेक
केही ल्याएन।

एक दिन
परदेशको झ्यालबाहिर आकाश उस्तै थियो,
तर फोनको अर्को छेउबाट
एउटा संसार निभ्यो
“आमा रहिनन्‘”
वा
“बुवा रहनुभएन‘”

त्यो क्षण
मनले सात समुद्र तरेर
घरको आँगन टेक्यो,
तर शरीरको पखेटामा
कानुनको फलाम बाँधिएको थियो।
नेपालमा मलामीको लहर बगिरह्यो,
बुवाको पार्थिव शरीर काँध खोजिरह्यो,
आमाको अन्तिम यात्रा
आफ्नै सन्तानको पदचाप पर्खिरह्यो
र परदेशमा एउटा छोरो
आफ्नै कोठाभित्र
नपुगेको मलामीको शोक बोकेर बसिरह्यो।

हामीले पैसा पठायौँ,
घरका भित्ताहरू उठे,
तर समयको भित्तामा
एउटा चिरा झन् गहिरिँदै गयो।
नोटले चुलो बल्यो,
तर निभिसकेको आवाज बल्न सकेन।
कमाइले भविष्य किन्यो,
तर आमाबुवासँग बित्नुपर्ने
एउटा अन्तिम साँझ पनि किन्न सकेन।

त्यसैले परदेशीको हातमा
देखिने पैसामात्र नहेर्नुहोस्
उसको औँलाबीच अड्किएको
त्यो अदृश्य माटो पनि हेर्नुहोस्,
जुन उसले आमाबुवाको
अन्तिम चितामा चढाउन पाएन।

परदेशले हामीलाई कमाइ दियो,
तर कहिलेकाहीँ
त्यसको मूल्य आफ्नै मानिसको
अन्तिम बिदाइ रहेछ।

आज पनि मनले सोध्छ
जसको सुखका लागि
सात समुद्र पार गरियो,
उनीहरूकै अन्तिम यात्रामा
एक पाइला पनि सँगै हिँड्न नपाउनु
यो कमाइ हो कि
जीवनले लेखिदिएको
सबैभन्दा महँगो ऋण ?

(शंकर भण्डारी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ। उहाँ राजनीतिक शास्त्रमा विद्यावारिधि अध्ययनरत हुनुहुन्छ। उहाँका कविता, लेख तथा विभिन्न समसामयिक रचनाहरू  विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।)