काठमाडौँ, ४ भदौ । संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको आज बसेको बैठकमा संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन छलफल भएको छ ।
प्रादेशिक सीमाङ्कन लगायतका विषयमा जारी छलफल टुङ्ग्याएर संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन बिहानैदेखि सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।
संविधानको परिमार्जित मस्यौदासहितको विधेयक तयारीका क्रममा मस्यौदा समितिलाई संविधानसभाले यही भदौ १ गते थपेको चार दिनको समय आज सकिँदै छ ।
सिंहदरबारमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको विधेयक सहमतिका साथ अघि बढाउन छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार मस्यौदा समितिबाट संविधानको विधेयक सहमतिका साथ संविधानसभामा लगिने छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आजै मस्यौदा समितिले संविधानको विधेयक संविधानसभामा पेश गर्ने जानकारी दिनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको सीमाङ्कनको विवाद अन्त्य गर्न विशेष समितिमा छलफल भए पनि त्यसको टुङ्गो लागिनसकेको बताउनुभयो । उहाँले भन्नुभयो-‘सात प्रदेशको सहमति नजिक पुगेका छौं, निर्णय हुन बाँकी छ, सम्भवत आजै टुङ्गो लाग्छ ।’
उहाँका अनुसार कर्णालीलगायत मध्यपश्चिमका जिल्लाहरुलाई समेटेर अलग्गै प्रदेश बनाउनेबारे दलहरुको छलफल सहमति नजिक पुगेको हो । दलहरु सात प्रदेशकै सहमति नजिक पुगेको नेता रावलको भनाई छ ।
यसअघि प्रधानमन्त्री सुशील कोइराला मध्यपश्चिमाञ्चल टुक्र्याउने गरी एमाओवादीले सात प्रदेशको प्रस्ताव गरेपछि रिसाएका थिए । तर, अब मध्यपश्चिमाञ्चललाई नटुक्र्याई एकै प्रदेश बनाउने गरी छलफल चलाएपछि दलहरुबीच सात प्रदेशको कुरा मिलेको बैठक स्रोतले जनायो । यसअघि कर्णालीलाई सुदूरपश्चिममा गाभेकोमा स्थानीयबाट चर्को विरोध हुँदै आएको छ । त्यसैगरी मध्यपश्चिमलाई टुक्राएर दुईवटा प्रदेशमा मिसाएकोमा पनि आन्दोलन भइरहेको छ ।
यस्तै, बैठकमा मस्यौदा समितिले आफ्नो काम सकेका कारण विधेयक अघि बढाउने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो । रासस












प्रतिक्रिया