२९ आश्विन २०८३, बिहिबार

उपप्रधानमन्त्रीमा रामचन्‍द्रलाई ल्याउने योजना स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Bigकाठमाडौं, ३ असार । प्रधानमन्त्री सुशील कोइराला दुई साताभित्रै अमेरिकामा उपचार गराएर फर्किने भएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाएर कार्यवाहक दिने तयारी तत्कालका लागि स्थगित भएको छ।

चिकित्सकले जिब्रोको क्यान्सरको फलोअप तथा फोक्सोमा देखिएको दागको उपचार अमेरिकामा गराउन सुझाउ दिएपछि कोइरालाले पौडेललाई कार्यवाहक प्रधानमन्त्री दिने गरी उपप्रधानमन्त्री बनाउने तयारी गरेका थिए।

सबै परीक्षण रिपोर्ट आउन र उपचार गराउन कम्तीमा एक महिना लाग्ने चिकित्सकको अनुमान थियो। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक करवीरनाथ योगी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गर्दा प्रधानमन्त्रीको फोक्सोमा दाग देखिएको थियो।

एक महिनासम्म आफू देशमा नहुँदा मर्यादाक्रममा दोस्रो नम्बरका उपप्रधानमन्त्री वामदेव गौतलाई कार्यवाहक प्रधानमन्त्री नदिने मनस्थितिमा कोइराला थिए। तर तीन महिनापछि फेरि अमेरिका जानुपर्ने भएकाले उनले तत्कालका लागि लामो उपचार नगराउने निर्णय गरी पौडेललाई उपप्रधानमन्त्री बनाउने योजना स्थगित भएको स्रोतले बतायो।

असार तेस्रो साता स्वदेश फर्कने प्रधानमन्त्री कोइराला असोजमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुपर्ने भएकाले त्यही बेला लामो उपचार गराउने गरी अहिले सामान्य परीक्षण गरेर फर्कने भएका छन्।

सत्ता साझेदार एमाले नेताले पनि महाधिवेशनअघि सरकारको समीकरणमा हेरफेर नगर्न आग्रह गरेपछि कोइराला दुई साताका लागि उपप्रधानमन्त्री गौतमलाई नै कार्यवाहक प्रधानमन्त्री दिने निष्कर्षमा पुगेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले शनिबार टेलिफोन गरी एमाले नेताहरूसँग आफ्नो अमेरिका भ्रमण, कार्यवाहक प्रधानमन्त्रीलगायतका विषयमा छलफल गरेका थिए। ‘मुलुकको राजनीतिक परिस्थिति हेरेर प्रधानमन्त्री छिट्टै फर्कनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले भने। अन्नपूर्ण पोष्ट दैनिकबाट