२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेनप्रति शर्माको कटाक्ष : कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिको पुनर्जागरण गर्नुपर्नेमा जोड दिदै राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सोमबार पार्टीको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समसामयिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले पछिल्लो समय मुलुकको राजनीति, नेतृत्व र शासन प्रणालीप्रति नागरिकमा बढेको असन्तोष र वितृष्णालाई चिर्दै लोकतान्त्रिक संस्कृतिको पुनर्जागरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले पार्टी र समग्र राजनीतिमा आएको क्षयप्रति आत्मालोचित हुँदै, अबदेखि “व्यक्तिको गल्ती वा दोष संस्थाले नबोक्ने“ स्पष्ट नीति लिइएको बताए । कानुन उल्लङ्घन वा अनियमितताको मुद्दामा जोडिने जुनसुकै नेता वा कार्यकर्ताले व्यक्तिगत रूपमा कानुनको सामना गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उनले राजनीतिक पुनर्जागरणका लागि १५ औँ महाधिवेशनबाट १५ वटा ’हामी यो गर्दैनौँ’ र १५ वटा ’हामी यो गर्छौँ’ संकल्पहरू अघि सारेका छन् । साथै उनले प्रविधिका माध्यमबाट ग्रासरुटका क्रियाशील सदस्यहरूलाई सीधा निर्णय प्रक्रियामा जोड्न ’डिजिटल कांग्रेस’ को अवधारणा लागू गरिने उनको भनाइ छ । उनले कांग्रेस प्रति प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता रहेको जवाफ दिए ।

उनले प्रधानमन्त्री पदको ’म्युजिकल चेयर को आलोपालो चलेको दृश्यले निराश भएको युवामाझ ’३५ बर्षमा देशमा केहि भएन भन्ने भास्य जबर्जस्त ढंगले भर्न संसदीय लोकतान्त्रिक प्रणालीका विपक्षीहरुलाई सफलता मिलेको उल्लेख गरेका छन् । उनले जेनजी बिद्रोहमा जीवन गुमाएका युवा र अन्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त बिद्रोह मार्फत युवाहरूले व्यक्त गरेको अपेक्षा सम्बोधन गर्ने दिशामा इमानदार ढंगले कर्म गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो पुस्ताले नियमित रुपमा उठाउने प्रश्नको नियमित सम्बोधनले मात्रै तिनको विश्वासलाई राजनीति र राज्यप्रणालीसँग निरन्तर जोड्न सकिन्छ भन्ने तथ्यलाई सबै राजनैतिक दल र सरकारले गम्भीर हेक्का राख्न जरुरी रहेको उनको प्रतिवेदनमा उल्लेख छ । उनले महाधिवेशनले पार्टीलाई चुनाव जित्ने रणनीतिको दायराभन्दा माथि उठाएर नागरिकको विश्वास जित्ने लोकतान्त्रिक संस्कृतिको नयाँ आधारशिला खडा गर्ने उल्लेख गरेका छन् ।