२८ आश्विन २०८३, बुधबार

तीन महिला पत्रकारद्वारा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

दिल्ली प्रहरीले पत्रकारहरूबाट प्राप्त उजुरीलाई निष्पक्ष अनुसन्धानका लागि क्राइम ब्रान्चमा पठाइएको जनाएको छ ।

दिल्ली प्रहरीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, अक्टोबर ३ मा नयाँदिल्ली क्षेत्रमा प्रदर्शनका क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । प्रहरीले उनीहरूका उजुरी प्राप्त भइसकेको र घटनाको अनुसन्धान क्राइम ब्रान्चले गर्ने बताएको छ ।

पीडित पत्रकार रोजीका अनुसार, एक महिला प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइरहेका बेला उनी घटनाको भिडियो खिचिरहेकी थिइन् ।

उनका अनुसार त्यहाँ महिला प्रहरीको उपस्थितिबारे प्रश्न उठाउँदा एसीपी विवेक भगतले आफूलाई छातीमा समातेर धकेलेका थिए । त्यसपछि आफूले पनि प्रहरीलाई पछाडि धकेलेको उनको भनाई छ ।

रोजीले पछि आफू र अन्य महिला पत्रकारले सम्बन्धित प्रहरी अधिकारीसँग घटनाबारे माफी माग्न आग्रह गरेको तर उनले माफी माग्न अस्वीकार गरेको बताइन् । पत्रकारहरूले घटनाबारे एफआईआर दर्ता गर्न माग गरे पनि तत्काल उजुरी दर्ता नभएको उनको भनाइ छ ।

उनले सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरेकी छन् ।

घटनापछि पत्रकारहरूको प्रदर्शन

घटनापछि प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले संसद मार्ग प्रहरी चौकीबाहिर प्रदर्शन गरेका थिए ।

उनीहरूले पत्रकारलाई समाचार संकलनबाट रोकिएको र महिला पत्रकारमाथि प्रहरीबाट दुर्व्यवहार भएको आरोप लगाउँदै सम्बन्धित अधिकारीविरुद्ध एफआईआर दर्ता गर्न माग गरे ।

प्रदर्शनकारीहरूले पत्रकारलाई आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्ने क्रममा अनावश्यक रूपमा रोक्न नहुने बताएका थिए । साथै, महिला पत्रकारले लगाएको आरोपबारे निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।