काठमाडौं । नेसन्स लिगमा पोल्यान्डले १० खेलाडीमा सीमित रोमानियालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन् ।
फियोरेन्टिनामा लोनमा रहेका टोटनह्यामका डिफेन्डर राडु ड्रागुसिन २२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वारसामा रोमानियाको टोली धराशायी बनेको थियो ।
लेवान्डोस्कीले पेनाल्टीमार्फत गोलको खाता खोले भने दोस्रो हाफको सुरुवातमै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि एक आत्मघाती (ओन) गोल तथा पियोत्र जिलिन्स्की र जान बेडनारेकका गोलहरू थपिए ।
लगत्तै ३८ वर्षीय लेवान्डोस्कीले आफ्नो सातौं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । बार्सिलोनाका पूर्व स्ट्राइकर लेवान्डोस्कीले हालसम्म ९२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।
जितपछि पोल्यान्ड समूह ‘बी ४’को तेस्रो स्थानमा उक्लिएको छ भने रोमानिया चौथो स्थानमा यथावत् छ । दोस्रो पटक टोलीको जिम्मेवारी सम्हालेका जर्ज हागी आफ्ना सुरुवाती तीन प्रतिस्पर्धात्मक खेलमा पराजित हुने पहिलो रोमानियाली प्रशिक्षक बनेका छन् ।
यस्तै, सोही समूहको अर्को खेलमा बोस्निया-हर्जगोभिना र स्वीडेन १-१ को बराबरीमा सकिएका छन् । यस खेलसँगै एडिन जेकोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा भावुक दृश्यहरू देखिएका थिए ।
म्यानचेस्टर सिटीका पूर्व फरवार्ड, ४० वर्षीय जेकोले पहिलो हाफको अन्त्यतिर गोल गरे पनि तयारीका क्रममा बल खेलको दायराभन्दा बाहिर गएकाले त्यसलाई मान्यता दिइएन । उनको १५२ औं अन्तर्राष्ट्रिय खेल (जसमा उनले ११ नम्बरको जर्सी लगाएका थिए)को अवसरमा ११ औं मिनेटमा आतिशबाजी गरिएको थियो ।
जेनिसामा ६२ औं मिनेटमा मैदानबाट बाहिरिँदा दर्शकहरूले उनलाई उठेर सम्मान (स्ट्यान्डिङ ओभेसन) व्यक्त गरे ।
खेलपछि औपचारिक समारोह, ‘गार्ड अफ अनर’ र जेकोप्रति धन्यवाद सन्देशसहितको ड्रोन शो आयोजना गरियो । साथै, मैदानको चक्कर (ल्याप अफ अनर) लगाउने क्रममा दर्शकहरूले उनलाई उपहारस्वरूप ‘सफ्ट टोय’ (नरम खेलौना) हरू प्रदान गरेका थिए ।
यसअघि आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले स्वीडेनलाई अग्रता दिलाए पनि पछि केलिम अलाजबेगोभिचले बोस्निया-हर्जगोभिनाका लागि बराबरी गोल फर्काएका थिए ।
यसैगरी, केभिन डी ब्रुइनले दुई गोल गरेपछि बेल्जियमले टर्कीलाई ३-० ले पराजित गर्दै समूह ‘ ए १’मा दोस्रो स्थानमा उक्लिएको छ । ३५ वर्षीय नापोली मिडफिल्डरले खेलको दुवै हाफमा एक-एक गोल गरे भने रोमेलु लुकाकुले अर्को गोल थपे ।
अर्को खेलमा लिभरपूलका डिफेन्डर मिलोस केर्केजले गरेको एकमात्र गोलको मद्दतले हंगेरीले बुडापेस्टमा जर्जियालाई हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ । हंगेरी समूह ‘बी २’मा शीर्ष स्थानको नर्दन आयरल्यान्डभन्दा तीन अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।











प्रतिक्रिया