२८ आश्विन २०८३, बुधबार

एसियाली खेलकुद : लिङ्गसम्बन्धी विवादलाई चिर्दै लिन यु–टिङले जितिन् स्वर्ण पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लिङ्गसम्बन्धी विवादमा परेकी ताइवानकी बक्सर लिन यु-टिङले स्वर्ण पदक जितेकी छन् ।

तीन वर्षअघि हाङझाउमा ५७ केजी तौल समूहमा सफलता हात पारेकी लिनको एसियाली खेलकुदमा यो दोस्रो स्वर्ण पदक हो ।

पेरिस ओलम्पिक २०२४ मा लैङ्गिक पहिचानसम्बन्धी ठूलो विवादमा परेकी ओलम्पिक च्याम्पियन ताइवानी बक्सर लिन यु-टिङले एसियाली खेलकुदमा पुन: स्वर्ण पदक हात पारेकी हुन् ।

जापानको निशियोमा शुक्रबार भएको महिला ६० केजी तौल समूहको फाइनलमा लिनले चीनकी याङ चेङ्युलाई ५-० ले पराजित गरिन् । यसअघि चीनको हाङझाउमा आयोजित एसियाली खेलकुदको ५७ केजी तौल समूहमा स्वर्ण जितेकी लिनको लागि यो प्रतियोगितामा लगातार दोस्रो स्वर्ण हो ।

नागोयाको दक्षिण-पूर्वमा रहेको निशियो जिम्नेजियममा ताइवानकी यी ३० वर्षीया खेलाडीलाई त्यहाँ उपस्थित समर्थकहरूको सानो समूहले हौसला दिइरहेको थियो । प्रतिद्वन्द्वीभन्दा अग्लो कदकी लिनले आफ्नो ‘रिच’ (हातको पहुँच)को फाइदा उठाउँदै खेलमा पकड जमाइन् र तेस्रो तथा अन्तिम राउन्डसम्म आइपुग्दा स्पष्ट अग्रता बनाइन् ।

उनले याङको अन्तिम समयको आक्रमणलाई सफलतापूर्वक रोक्दै संयमित ढङ्गले स्वर्ण पदकको खुसी मनाइन् । पेरिस ओलम्पिकपछि सन्यास लिने विचार गरेकी लिनले आफ्नो योग्यतामाथि प्रश्न उठाउनेहरूलाई चुनौती दिन खेललाई निरन्तरता दिएको बताएकी छन् ।

सन् २०२३ को विश्व च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ सङ्घले ताइवानकी लिन र अल्जेरियाकी इमाने खेलिफलाई ‘लिङ्ग योग्यता परीक्षण’मा असफल भएको भन्दै अयोग्य घोषित गरेको थियो । यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बदनाम संघको उक्त कदमलाई ‘अचानक र मनपरी निर्णय’ भन्दै उनीहरूलाई पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अनुमति दिएको थियो, जहाँ दुवै खेलाडीले स्वर्ण पदक जितेका थिए ।