२८ आश्विन २०८३, बुधबार

८७ वर्षीया वृद्धालाई फ्ल्याटबाट निकालेको विरोधपछि स्पेनले गर्‍यो घरबाट निकाल्न प्रतिबन्धको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन । राजधानी म्याड्रिडमा ८७ वर्षीया वृद्धालाई घरबाट निकालिएपछि चर्किएको आवास संकटविरुद्धको विरोध प्रदर्शनकाबीच स्पेनको गठबन्धन सरकारले नयाँ आवास उपायहरूलाई स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०३० सम्म घरधनीले भाडावाललाई जबर्जस्ती निकाल्न नपाउने प्रावधानसहितका प्रस्तावहरूबारे छलफल गरी स्वीकृति प्रदान गरेको हो ।

नयाँ उपायहरूको घोषणा गर्दै स्वास्थ्यमन्त्री मोनिका गार्सियाले यस कदमबाट ५० लाखभन्दा बढी नागरिकले राहत पाउने दाबी गरिन् । तर, विपक्षी नेतृ मिरियम नोगुएरासले भने यो सम्झौताले साना घरधनीहरूलाई बेवास्ता गरेको भन्दै आलोचना गरेकी छन् ।

दुईवटा अध्यादेशका रूपमा ल्याइएका यी प्रस्तावहरू तत्काल लागू हुनेछन् । यद्यपि, तिनलाई एक महिनाभित्र संसद् (कंग्रेस)बाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले भने यसै शुक्रबार संसद्मा मतदान गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको वामपन्थी गठबन्धन सरकारसँग संसद्मा स्पष्ट बहुमत छैन । यसअघि गत अप्रिलमा घर भाडा सम्झौताको म्याद थप्नेसम्बन्धी अध्यादेशलाई दक्षिणपन्थी दलहरूले रोकिदिएका थिए ।

‘सुमार’ गठबन्धनकी नेता गार्सियाका अनुसार मंगलबार पारित अन्य उपायहरूमा सन् २०२८ सम्म भाडा सम्झौता निरन्तर रहने, अल्पकालीन तथा कोठा भाडा प्रणालीमा कडा नियमन लागू गर्ने र ठूला लगानीकर्ता कम्पनीहरूलाई आवास खरिदमा रोक लगाउने विषय समावेश छन् ।

“आवास क्षेत्रमा हुने सट्टेबाजी नियन्त्रण गर्दै आम नागरिक र नाफाखोर लगानीकर्ता समूह (भल्चर फन्ड) बीच सन्तुलन कायम गर्ने समय आएको छ,” मन्त्री गार्सियाले भनिन् । विरोध प्रदर्शनतर्फ लक्षित गर्दै उनले थपिन्, “जनपरिचालन र नागरिक दबाबका लागि धन्यवाद, तपाईंहरूको संघर्षबिना यो निर्णय सम्भव थिएन ।”

अर्कोतर्फ, मध्य-दक्षिणपन्थी क्याटालान राष्ट्रवादी ‘जुन्ट्स’ पार्टीकी प्रवक्ता नोगुएरासले ठूला कोष वा ‘भल्चर फन्ड’को नियन्त्रणमा रहेका घरजग्गाबाट हुने निष्कासन रोक्नु जायज भए पनि साना लगानीकर्तालाई सोही श्रेणीमा राख्नु गलत भएको बताइन् । “आफ्नो जीवनभरको बचत अपार्टमेन्ट वा अन्य सम्पत्तिमा लगानी गरेका व्यक्तिहरूलाई ठूला लगानीकर्तासँगै एउटै डालोमा हाल्नु गम्भीर गल्ती हो,” उनले सार्वजनिक प्रसारण संस्था आरटीभीईसँग भनिन् ।

सत्तारुढ सोसलिस्ट पार्टी र ‘सुमार’ गठबन्धनको अल्पमतको सरकारसँग संसद्मा सहमति जुटाउन ३० दिनको समय छ ।

गत साता ८७ वर्षीया मारिकार्मेन अबास्कललाई घरबाट निकालिएपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै आवास मन्त्री इसाबेल रोड्रिगेजले राजनीतिक दलहरूलाई अध्यादेशको पक्षमा उभिन आग्रह गरेकी छन् । “संसद्ले मारिकार्मेनलाई उनको दुःख खेर नगएको र संघर्षले धेरै मानिसलाई राहत दिलाएको सन्देश दिने अवसर पाएको छ,” उनले भनिन् ।

यद्यपि, म्याड्रिड भाडावाल संघकी प्रवक्ता भलेरिया राकुले भने यो संघर्ष भर्खर सुरु भएको बताउँदै आगामी साता स्पेनभर थप विरोध प्रदर्शन गर्ने चेतावनी दिएकी छन् । सोही संस्थाकी अर्की प्रवक्ता एलिसिया डेल रियोले अध्यादेशका साना-साना विवरणहरूको अध्ययन भइरहेको र यो निर्णय वास्तवमै सर्वसाधारणको हितमा छ कि छैन भन्ने सुनिश्चित गरिने बताइन् ।