२८ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोला जलविद्युत आयोजनामा जुट्यो लगानी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।

सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो ।

सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी ३ अर्ब रुपैयाँ घलेम्ली हाइड्रो लिमिटेडलगायत अन्य संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ ।

सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सहअगुवा बैंकका रूपमा सहभागी छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छ । भदौ १० को भोटेकोशी प्रलयपछि वित्तीय व्यवस्थापन भएको छुजुङ सम्भवत: पहिलो जलविद्युत आयोजना हो ।

९ अर्ब ऋण र ३ अर्ब इक्विटी

आयोजनाको कूल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ । यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको इक्विटीबाट लगानी जुटाइएको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागतको हिसावले आयोजना सस्तो देखिएको छ । आयोजना ४ घण्टा अर्ध–जलाशययुक्त प्रकृतिको हुने भएको छ । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजनास्थल याक खर्कमा हेलिकोप्टरबाट निर्माण सामाग्री ढुवानी गरी खन्ने काम भइरहेको छ । आयोजनाको विद्युतगृह भूमिगत हुने प्रस्ताव गरिएको छ ।

आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, सञ्चालनको नवौं वर्षमा पुग्दा वार्षिक आम्दानी बढेर करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । विद्युत प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुने भएको छ । आरओई र आइआरआर दुई वित्तीय सूचक हेर्दा आयोजना वित्तीय रुपमा आकर्षक देखिनुका साथै लगानीकर्तालाई राम्रो प्रतिफल दिनेछ ।

त्यस्तै, आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ ।

घलेम्दी हाइड्रोको १ अर्ब १० करोड लगानी

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ । घलेम्दीले म्याग्दीको अन्नपूर्ण नरच्याङमा ५ मेगावटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

सांग्रिला ऊर्जाले प्रवर्द्धन गर्ने आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको छ ।

छुजुङ खोला जलविद्युत आयोजना संखुवासभाको भोटखोला क्षेत्रमा निर्माण हुने भएकाले आयोजना सञ्चालनमा आएपछि यस क्षेत्रको विद्युत उत्पादन तथा राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाको विद्युतगृहबाट ५५ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा बिजुली समाहित हुने भएको छ । आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन बनाउनु पर्ने भएको छ ।

सांग्रिला ऊर्जाले उक्त नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत आयोजनाको साझेदारीमा उक्त प्रसारण लाइन साझेदारीमा बनाउन सम्झौता गरेको छ । करिडोरमा अन्य आयोजना पनि थपिने भएकाले लागत अझ कम हुने कम्पनीले जनाएको छ ।

यस्तै, आयोजना बनाउन आवश्यक रुख कटानको काम सकिएको छ । एक रुख काटिएपछि १० रुख रोप्नु पर्ने नीतिअनुसार आयोजनाले रुख रोप्न र संरक्षण गर्न वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ। हाल आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग सम्पन्न गरेको छ। यस्तै आयोजनाका लागि आवश्यक क्याम्प निर्माण पनि सम्पन्न गरेको छ ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए ।

‘यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ । बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन । प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ कोइरालाले भने ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाका प्रवर्द्धकले अनुभवी र सहयोगी बैंकहरूको कन्सोर्टियम पाएको बताए । आफ्नो पहिलो जलविद्युत आयोजनामा समेत माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै उनले बैंकको सहयोगका कारण आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको बताए ।

‘मेरो पहिलो जलविद्युत आयोजना ७.५ मेगावाटको थियो । त्यसमा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो । हामीले तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ। तर, बैंकको सहयोगका कारण २२ महिनामै सम्पन्न गर्न सफल भयौँ,’ डाँगीले भने ।

उनले छुजुङ खोला आयोजनाका प्रवर्द्धक अनुभवी रहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । ‘तपाईंहरू पहिल्यै सफलतापूर्वक आयोजना निर्माण गरेर आउनुभएको अनुभवी टिम हुनुहुन्छ । विकट भूगोलमा काम गरिसक्नुभएको छ । त्यसैले ६३ मेगावाटको छुजुङ खोला तोकिएकै समयमा सम्पन्न हुनेमा इप्पान विश्वस्त छ,’ डाँगीले भने ।

आयोजना निर्माणमा समयको विशेष महत्व हुने भन्दै उनले ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुनसक्ने बताए ।

‘प्रोजेक्ट कति राम्रो र नाफामूलक बनाउने भन्ने कुरा निर्माण सम्पन्न हुने समयसँग जोडिएको हुन्छ । समयमै निर्माण सम्पन्न भएन भने निर्माण अवधिको ब्याज बढ्छ र आयोजना कमजोर हुन्छ । तपाईंहरूजस्तो अनुभवी नेतृत्वले समयमै आयोजना सम्पन्न गरेर देशको ऊर्जा सुरक्षामा योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास छ,’ डाँगीले भने ।

सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागत र छोटो समयमा आयोजना निर्माण गर्न सकिने बताए । उनका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताका आधारमा अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन ।

‘आयोजनाको हेड ९०० मिटरभन्दा बढी भएकाले क्षमताअनुसार ठूला संरचना बनाउनुपर्ने अवस्था छैन । त्यसैले कम लागत र छोटो समयमै आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ,’ सुवेदीले भने । उनले आयोजनाको क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव बढ्ने र यसले हाइड्रोलोजिकल जोखिम कम गर्ने दाबी गरे ।

‘हामीलाई विश्वास गरेर लगानी गर्ने माछापुच्छ्रे बैंकसहित सबै बैंक तथा लगानीकर्ताको भरोसा पूर्ण रूपमा कायम राख्नेछौँ,’ उनले भने ।

सांग्रिलाका प्रवन्ध निर्देशक पुष्कर पौडेलले अर्धजलासय आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी दिए । यो मुलुकको ऊर्जा सुरक्षालाई ध्यानमा राखेर सुक्खामा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा चल्ने गरि आयोजनाको डिजाइन गरेको उनले बताए ।

आयोजना नदीभन्दा ४५ मिटर माथि भएकाले भोटेकोशीमा आएको जस्तो प्रलयले आयोजनामा क्षतिको जोखिम नभएको पौडेलले स्पष्ट पारे । नदीमा सेडिमेन्ट ज्यादै न्यून भएको र हिमपहिरोको जोखिम नभएको प्रवन्ध निर्देशक पौडेलले बताए ।