२८ आश्विन २०८३, बुधबार

एकतावद्ध नेतृत्वले चुनौतीका पहाड सामना गर्न सक्छ : विशाल भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय प्रमुख विशाल भट्टराईले पार्टी एकतावद्ध भएर अघि बढे वर्तमान चुनौतीको सामना गर्न सक्ने बताएका छन् ।

बुधबार केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेखित दुई कार्यभार र १५ कामको बाटोमा एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले पार्टीको अवस्थालाई ‘अचानक भासिएको फराकिलो राजमार्ग’सँग तुलना गर्दै त्यसलाई पुनः सञ्चालनयोग्य बनाउने काम नेतृत्वबाट भएको बताए ।

उनले भने, ‘हामी फराकिलो राजमार्गमा निर्वाध यात्रामा थियौँ, अचानक राजमार्ग भासियो । कसैले दायाँ जाऊ भने, कसैले बायाँ, कसैले फर्कौं भने, कसैले सडक पुरेर जाऊ भने । अन्तमा सडक पुर्ने कामको नेतृत्व अध्यक्ष कमरेडले गर्नुभयो । अब हामी सबैले मिलेर पुरेको बाटोबाट अघि बढ्छौँ ।’

भट्टराईले राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ताको निर्णायक उपस्थिति बढ्दै गएको तर एमालेको उपस्थिति भने ती क्षेत्रमा कमजोर बन्दै गएको बताए । पार्टीमा युवाको आकर्षण बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको धारणा थियो ।

‘राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ता निर्णायक रूपमा आयो, हामी त्यहाँ पातलिएका छौँ । हाम्रो उपस्थिति बाक्लो बनाउन युवा आकर्षणको कार्यक्रम अपरिहार्य छ,’ उनले भने ।

भट्टराईले एमाले बाह्य आक्रमण र सामाजिक सञ्जालको दुरुपयोगबाट प्रभावित भएको पनि बताए । पार्टीविरुद्ध फैलाइएका भ्रमपूर्ण सन्देशको समयमै र योजनाबद्ध रूपमा प्रतिवाद गर्न नसक्दा त्यसको असर जनमतमा परेको उनको भनाइ थियो ।

उनका अनुसार पार्टीले सामाजिक सञ्जालमा फैलिएका भ्रम र गलत सूचनाको प्रभावकारी प्रतिवाद गर्न नसक्दा जनतामाझ एमालेबारे नकारात्मक धारणा निर्माण भयो र त्यसले चुनावी परिणाममा समेत असर पारेको हो ।

भट्टराईले आगामी दिनमा पार्टी संगठनलाई बलियो बनाउँदै नयाँ पुस्तासँगको सम्बन्ध विस्तार र डिजिटल माध्यममा प्रभावकारी उपस्थिति बढाउनुपर्नेमा जोड दिएका छन् ।