२८ आश्विन २०८३, बुधबार

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमा गरौँ : सचिव बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा आज धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमा बहस गर्नुपर्ने बताए । पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिका कारण पार्टीको संस्थागत प्रतिष्ठा, कार्यकर्ताको मनोबल र जनविश्वासमा असर परेको उनको भनाइ थियो ।

उनले भने, ‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ ।’

बस्नेतले पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै क्रान्तिकारी कदम हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए । गलत देखिए नेतृत्वलाई सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उनको भनाइ थियो ।

उनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा उठाइएका विषयलाई आवश्यक सुझाव समेटेर समृद्ध बनाउँदै पारित गर्नुपर्ने धारणा राखे । कठिन राजनीतिक परिस्थितिमा ओलीले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा विकास र समृद्धिको एजेन्डा अघि बढाएको उनले बताए ।

बस्नेतले पार्टीको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग जोड्न नहुने पनि बताए । उनका अनुसार पुनर्गठन भनेको पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार र जनसम्बन्ध विस्तार हो ।

उनले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने बताए । साथै, विचार मिल्ने वामपन्थी दलहरूसँग कार्यगत एकता र सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो ।

बस्नेतले वर्तमान सरकारका कामकारबाहीविरुद्ध एमालेले जनताका मुद्दा उठाउनुपर्ने बताए । महँगी, भ्रष्टाचार र विपद् व्यवस्थापनमा देखिएका कमजोरीलाई जनतासमक्ष लैजानुपर्ने भन्दै उनले लोकतन्त्र, संविधान, विधिको शासन र जनअधिकारको रक्षाका लागि पार्टी कमिटी, नेता–कार्यकर्ता र जनसमुदायलाई संगठित गर्नुपर्ने बताए ।

भोटेकोशीमा भएको विपत्तिका क्रममा खोजी, उद्धार र राहतमा खटिएका पार्टी पंक्ति, जनसंगठन तथा स्वयंसेवकलाई धन्यवाद दिँदै उनले स्थानीय कमिटीहरूले पार्टी कोषमा जम्मा गर्ने भनिएको १ करोड २० लाख रुपैयाँ र ५०० अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता कार्यान्वयनमा सबैले भूमिका खेल्नुपर्ने बताए ।

पार्टीभित्र रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन भएको उल्लेख गर्दै बस्नेतले केन्द्रीय कमिटी बैठकमा फरक दस्तावेज प्रस्तुत गर्नेभन्दा विधान र बैठकको कार्यविधिअनुसार फरक मत राख्नुपर्ने बताए ।

उनले भने, ‘रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन हो । केन्द्रीय कमिटीको बैठकमा फरक दस्तावेज राख्ने होइन, निर्णयमा फरक मत भए पार्टीको विधान र बैठकको कार्यविधिअनुसार राख्नुपर्छ ।’