२८ आश्विन २०८३, बुधबार

अटोमोबाइल उद्योगका अनुभवी पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।

एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो । महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन् । उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् ।

पौडेलको अटोमोबाइल क्षेत्रसँगको यात्रा र नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थाबाट हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन् ।

अटोमोबाइल व्यवसायसँगै पौडेल नीति तथा व्यवसायिक मुद्दामा समेत सक्रिय छन् । नाडामार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पार्ट्सको प्रयोग लगायतका विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन् ।

नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पनि पौडेलले जोड दिँदै आएका छन् ।

अटोमोबाइल क्षेत्रको व्यवसायिक अनुभवसँगै नाडामा नेतृत्वदायी भूमिकामा रहेका पौडेलको नयाँ जिम्मेवारीले अब उनको भूमिका कम्पनी तथा ब्रान्डको व्यवसायिक गतिविधिभन्दा बाहिर गएर समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यवसायिक विषयमा समेत केन्द्रित हुने भएको छ ।

एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ । समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको अनुभवले आगामी छलफल तथा पहलमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।