२८ आश्विन २०८३, बुधबार

विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’को घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

मंगलबार साँझ भारतको मुम्बईस्थित पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’मा आयोजित समारोहकाबीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बीच चलचित्रको घोषणा गरिएको हो ।

कार्यक्रममा चलचित्रको मुख्य अभिनेत्रीमा साहारा आर शाहलाई अनुबन्धित गरिएको छ ।

कार्यक्रममा निर्माता सुवास भुसाल र नवनायिका शाहका बीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शाहले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमीमा अभिनय सिकेकी हुन् ।

अभिनेता ओबेरोयले शाहले चलचित्रमा डेब्यु गर्नु आफ्ना लागि जन्मदिनको सबैभन्दा ठूलो उपहार भएको बताए ।

ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्व सम्हाल्दै अएका छन् । शाह तीन वर्षको उमेरदेखि नै क्यान्सर रोगसँग संघर्षरत थिइन् ।

क्यान्सरलाई जितिसकेकी शाहलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (सीपीएए)मार्फत ओबेरोयले स्वास्थ्योपचार, शिक्षा र संरक्षकत्व प्रदान गर्दै अएका छन् ।

चलचित्र घोषणा समारोहलाई सम्बोधन गर्दै ओबेरोय निकै भावुक बनेका थिए ।

उनले भने, ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर चलचित्रको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु ।’

समाजिक विषयवस्तु माथि निर्माण हुने चलचित्रमा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ । निर्देशक सुवेदीले शाह अडिशनमार्फत चलचित्रमा छनोट भएको जानकारी दिए । कथा अनुसार हिन्दी लवजकी नायिका आवश्यक भएकोले पनि शाह छनोट भएको उनको भनाई छ ।

चलचित्रमा औपचारिक रूपमा आवद्ध हुनु अघि शाहले अभिनेता ओबेरोय र तारे जमिनपरका लेखक अमुल गुप्तेसँग आशीर्वाद समेत लिएकी थिइन् ।

कार्यक्रममा ओबेरोयले चलचित्रको सफलताको शुभकामना दिनुका साथै निर्देशक सुवेदी र निर्माता भुसाललाई विशेष धन्यवाद दिँदै साहाराको सुखद् फिल्मी करियरको कामना गरेका थिए । यसअघि नै चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । प्रदीपको जोडीका रूपमा शाहले अभिनय गर्नेछिन ।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौं तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानहरूमा गरिने निर्माता भुसालले जनाएका छन् ।

कर्णली फिल्म फेस्टिवलका अवसरमा चलचित्रको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो । सोही अनुरूप फेस्टिवलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा चलचित्र निर्माणको घोषणा गरिएको हो ।